कसेरीघाट सामूहिक हत्या प्रकरण: अभियुक्त पक्राउ, हत्या स्वीकार
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
912
Shares
काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित फोहरमैला प्रशोधन केन्द्रमा भएको तीन जनाको बीभत्स हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
शनिबार बेलचौतारा कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेपछि अनुसन्धानमा जुटेको प्रहरीले मङ्गलबार ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार पक्राउ परेका व्यक्तिले हत्या गरेको स्वीकार गरिसकेका छन्।
प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने गोप्य राखेको छ। उनी उक्त फोहरमैला प्रशोधन केन्द्रमा नियमित रूपमा गइरहने व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मृत भेटिएका तीन जनामध्ये दुई जनाको सनाखत भएको छ। जसमा शुक्लागण्डकी नगरपालिका–११ का ४१ वर्षीय नारायण विक र भिमाद नगरपालिका–८ भागरकी ५८ वर्षीया देउमाया थापा रहेका छन्।
अर्का एक मृतकको पहिचान भने अझै खुल्न सकेको छैन। प्रहरीले यस घटनाको पछाडिको कारण र अन्य सम्भावित संलग्नताबारे थप अनुसन्धान भइरहेको जनाएको छ।