काठमाडौँका यी क्षेत्रमा आज विद्युत् कटौती: प्राधिकरणले सार्वजनिक गर्यो मर्मत तालिका
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
996
Shares
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जानकारी दिएको छ।
प्राधिकरणले एक सूचना प्रकाशित गर्दै महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका गणेशस्थान, भङ्गाल र शिवपुरी फिडरमा बिजुली काटिने जनाएको हो।
फिडरको भार व्यवस्थापन गर्न, नयाँ पासिकोट फिडर निर्माण गर्न तथा ब्रेकर र भूमिगत तार चार्ज गर्ने प्रयोजनका लागि यो कटौती गर्न लागिएको प्राधिकरणले स्पष्ट पारेको छ।
विद्युत् कटौतीको समय तालिकाअनुसार गणेशस्थान फिडरमा आज बिहान ११:३० बजेदेखि अपराह्न १:३० बजेसम्म भोटे चोक र गणेशस्थान आसपासका क्षेत्रमा बिजुली बन्द हुनेछ।
त्यसैगरी भङ्गाल फिडरअन्तर्गतको तल्लो भङ्गाल र धोविखोला करिडोरलगायतका क्षेत्रमा बिहान ११:३० बजेदेखि दिउँसो १:०० बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ।
शिवपुरी फिडरअन्तर्गत पर्ने बुढानिलकण्ठ नगरपालिकाको पासिकोट र च्यासिङडोललगायतका क्षेत्रमा भने दिउँसो १:०० बजेदेखि २:०० बजेसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ।
प्राधिकरणले तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएको खण्डमा सूचनामा भनिएको समयभन्दा अघि नै विद्युत् सेवा नियमित हुने समेत जानकारी गराएको छ।