पार्टीलाई एकताबद्ध बनाएर लैजान गगन थापालाई तरुण दलको आग्रह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
947
Shares
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पार्टी एकताको पक्षमा दबाब अभियान शुरू गरेको छ ।
विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन प्रक्रिया शुरू गरिरहेका बेला संस्थापन पक्ष निकट तरुण दलका नेता, कार्यकर्ताहरूले मंगलबार सानेपास्थित पार्टी कार्यालयमा भेला भएर पार्टी एकताको पक्षमा दवाव दिएका हुन् ।
उनीहरूले पार्टीलाई एकतावद्ध बनाएर लैजान महामन्त्री गगनकुमार थापालाई आग्रहसमेत गरेका छन् ।
महामन्त्री थापा सिंगो पार्टीको नेता बन्नसक्ने भएकाले उनलाई पार्टीलाई एकतावद्ध बनाएर लैजान आग्रह गरिएको पनि तरुण दलका सभापति विद्वान गुरुङले बताए ।
उनले पार्टी सभापति शेरबहादुर देउवा पार्टी एकताको पक्षमा रहेको र त्यसैकारण दुई पक्षबीच वार्ता भइरहेको समेत बताए ।
अध्यक्ष गुरुङले भने, ‘अहिले नेपाल कांग्रेस जटिल अवस्थामा छ । एकातिर पार्टीले नियमित महाधिवेशनको कार्यतालिका निकालिसकेको छ । अर्कोतिर विशेष महाधिवेशनका समुद्घाटन भइसकेको छ । र उता पनि बन्दसत्र भइराखेको छ । नेपाली कांग्रेसलाई अझै पनि हामी चाहन्छौँ– यसलाई एकतावद्ध रुपमा लैजानका लागि दुवै पक्षका नेताहरूका बीचमा अहिले पनि सम्वाद भइराखेको छ । हामीलाई आशा छ–यो चुनौतीको घडीमा नेपाली कांग्रेस एक भएर जाने छ भन्ने हामीले विश्वास लिएका छौँ । र नेपाली काँग्रेस भ्रातृ संगठन तरुण दल भएको कारणले गर्दा अहिले हामी सबै तरुणहरू नेपाली कांग्रेसका केन्द्रीय कार्यालयमा जम्मा भएका छौँ । पार्टी एकताको पक्षमा हामीले सबै नेताहरुलाई दवाव पनि दिइरहेका छौँ । यदि पार्टी एकता भएन र, पार्टी विभाजन भएको अवस्थामा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा कहीँकतैबाट पनि त्यो खालको हस्तक्षेप नहोस् भन्नका लागि नेपाल तरुण दल तयारी अवस्थामा बसेको छ । हामीलाई के विश्वास छ भने गगन थापा नेपाली कांग्रेसका महामन्त्री पनि हुनुहुन्छ । उहाँ जनताको प्रिय नेता पनि हुनुहुन्छ । हमीलाई विश्वास छ–उहाँलाई सिंगो पार्टीको नेता बनाउन हामीले चाहेका छौँ । त्यस्तो खालको दवाव पनि छ । विशेष महाधिवेशनमा सिग्नेचर गर्ने साथीहरू पनि पार्टीलाई फुट्न दिनुहुँदैन भन्ने दवाव दिइरहनु भएको छ । निर्वाचन कार्यतालिका निकालेको भन्ने पनि हामीले सुनेका छौँ । महामन्त्रीज्यूलाई हामी के आग्रह गर्न चाहन्छौँ भने अहिलेको अवस्थामा तपाईंले नेपाली कांग्रेसलाई फुटाएर होइन, जुटाएर लैजाने कुरामा तपाईंले पक्कै पहल गर्नुहुन्छ भन्ने कुरामा हामीले त्यो अनुरोध गर्न चाहन्छौँ । सभापति देउवा पार्टी एकताको पक्षमा हुनुहुन्छ । उहाँकै कारण आज यो वार्ता भइरहेको हो ।’
नेपाल तरुण दलका नेता, कार्यकर्ताहरूले पार्टी विभाजन भए पनि पार्टी कार्यालय सानेपा कब्जा गर्न कसैलाई पनि नदिने चेतावनीसमेत दिएका छन् ।