अत्यधिक जाडोले हिल्सा नाका बन्द: भन्सारका कर्मचारी झरे सदरमुकाम
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
653
Shares
हुम्ला। हुम्लाको उत्तरी सीमा क्षेत्रमा रहेको हिल्सास्थित यारी नाका भन्सार कार्यालय आगामी तीन महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। अत्यधिक जाडोका कारण चीनको ताक्लाकोटबाट व्यापारी र सामग्रीहरूको आयात ठप्प भएपछि कारोबार नहुने भएपछि कार्यालय बन्द गरिएको हो। पुसको सुरुदेखि नै सामान आयात हुन छोडेपछि भन्सार विभागसँगको समन्वयमा पुस दोस्रो साताबाट कर्मचारीहरू सिमकोटस्थित सम्पर्क कार्यालयमा सरेका छन्।
यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले ताक्लाकोटबाट सामान आयात रोकिएकाले कर्मचारीहरू हिल्सामा बसिरहनुको सट्टा सदरमुकाम झरेको जानकारी दिए। यस वर्ष ठूलो हिमपात नभए पनि गत कात्तिकमा परेको हिउँ नारा सडकखण्डमा जमेर बरफ बनेका कारण यातायात सेवा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि ढुवानी प्रभावित हुँदा भन्सारमा काम नभएको उनले बताए।
भन्सार कार्यालय चैतको दोस्रो सातासम्मका लागि बन्द गरिएको भए पनि चीनतर्फको नाका भने खुल्लै रहेको कार्यालयले जनाएको छ। चैतमा कर्मचारीहरू पुनः यारी नाका फर्केपछि मात्र नियमित कामकाज र नाका सञ्चालनमा आउनेछ। राजस्व संकलनका दृष्टिले भने यस वर्ष उल्लेख्य सुधार देखिएको छ। प्रमुख जैसीका अनुसार गत साउनदेखि अहिलेसम्म १८ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन भएको छ, जुन गत वर्षको तुलनामा दोब्बर हो।