औद्योगिक प्रयोजनका लागि मात्र केराउ, सुपारी र मरिचको आयात खुला, खुद्रा व्यापारमा प्रतिबन्ध यथावत
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
664
Shares
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि औद्योगिक कच्चा पदार्थका रूपमा मात्र प्रयोग गर्ने गरी केराउ, सुपारी र मरिच (सेतो तथा कालो) को आयात खुला गर्ने निर्णय गरेको छ।
हालै राजपत्रमा प्रकाशित सूचना अनुसार यी वस्तुहरू उद्योगले आफ्नो उत्पादनका लागि आवश्यक कच्चा पदार्थका रूपमा मात्र पैठारी गर्न पाउनेछन् भने अन्य कुनै पनि व्यावसायिक वा व्यक्तिगत प्रयोजनका लागि गरिने आयातमा पूर्ण प्रतिबन्ध यथावत रहनेछ। आयात प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सरकारले उद्योग विभागको कडा सिफारिस र अनुगमनलाई अनिवार्य सर्तका रूपमा अघि सारेको छ।
सूचना अनुसार औद्योगिक प्रयोजनका लागि आयात अनुमति दिनुअघि उद्योग विभागले सम्बन्धित उद्योगको विस्तृत जाँचबुझ गरी कच्चा पदार्थको उपलब्धता, वास्तविक आवश्यकता र त्यसको औचित्यको मूल्याङ्कन गर्नेछ।
विभागले आयातित कच्चा पदार्थ सम्बन्धित उद्योगमै प्रयोग हुने सुनिश्चित गरेपछि मात्र परिमाण यकिन गरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पैठारीका लागि सिफारिस गर्नेछ। नयाँ स्थापना भएका उद्योगहरूले आयात अनुमति पाउनका लागि उद्योग दर्ता प्रमाणपत्र, भ्याट र प्यान दर्ताको प्रतिलिपि, वार्षिक स्वीकृत स्किम तथा उत्पादन लक्ष्यसम्बन्धी स्वघोषणा पेश गर्नुपर्ने कानुनी व्यवस्था गरिएको छ।
त्यस्तै, विगतदेखि सञ्चालनमा रहेका उद्योगहरूका हकमा भने थप कडाइ गरिएको छ। पुराना उद्योगले अघिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्र, कम्पनी अद्यावधिक पत्र र आफ्नो उत्पादन क्षमताको विवरण बुझाउनुपर्नेछ।
विशेष गरी अघिल्लो वर्ष कच्चा पदार्थ आयात गरेको भए त्यसबाट भएको वास्तविक उत्पादन, प्रयोग भएको परिमाण र बाँकी रहेको मौज्दातको विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने सूचनामा उल्लेख छ। यसरी सरकारले औद्योगिक क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिए पनि विलासिता वा पुनः व्यापारका लागि हुने आयातलाई रोक्न कडा प्रशासनिक संयन्त्र परिचालन गर्ने रणनीति अपनाएको देखिन्छ।