विशेष महाधिवेशन पूर्ण वैधानिक छ : गगन थापा [भिडियो]
कांग्रेस जागृत गराउन विशेष महाधिवेशन: वैधानिकतामा ढुक्क हुन कार्यकर्तालाई गगनको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
862
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरूले आयोजना गरेको विशेष महाधिवेशन पूर्णतः वैधानिक भएको दाबी गरेका छन् । काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रस्ताव पेस गर्दै महामन्त्री थापाले यसको वैधानिकतामाथि प्रश्न उठाउने ठाउँ नभएको स्पष्ट पारेका हुन् ।
महामन्त्री थापाले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन र निर्वाचन आयोगबाट प्रमाणित पार्टीको विधानको हवाला दिँदै यो महाधिवेशनलाई कसैले पनि अवैधानिक भन्न नसक्ने जिकिर गरे । उनले संविधानमा राजनीतिक दलसम्बन्धी गरिएको विशेष व्यवस्था र निर्वाचन आयोगको प्रावधान अनुसार नै आफूहरू अघि बढेकाले यसमा कानुनी प्रश्न उठाउने आँट कसैले गर्न नसक्ने बताए । पार्टीका केही पक्षले महाधिवेशनको वैधानिकतामाथि आशंका गरिरहेका बेला थापाले "ढुक्क भएर बस्नुस्, निर्वाचन आयोगले यसलाई १, २, ३ गरेर पनि अवैधानिक भन्न सक्दैन" भन्दै कार्यकर्तालाई आश्वस्त पारेका छन् ।
विशेष महाधिवेशनको उद्देश्यबारे प्रष्ट पार्दै महामन्त्री थापाले सुस्ताएको कांग्रेसलाई पुनः जागृत गराउन र नवीन ऊर्जा भर्नका लागि यो कदम चालिएको बताए । उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै आम जनतामा आशाको सञ्चार गर्न विशेष महाधिवेशन अपरिहार्य रहेको उल्लेख गरे । संस्थापन पक्षले महाधिवेशनलाई 'अवैधानिक' भन्दै बहिष्कार गरिरहेका बेला महामन्त्री थापाले कानुनी र राजनीतिक दुवै आधारमा यसको रक्षा गर्ने प्रतिबद्धता जनाएका हुन् ।