पुराना नेता नभएको सर्वपक्षीय सरकार गठन गर्न माइतीघरमा जेन-जीको प्रदर्शन
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
976
Shares
काठमाडौं । जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना नेतृत्वको समूहले वर्तमान सरकारले आन्दोलनको मर्ममाथि धोका दिएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा सोमबार प्रदर्शन गरेको छ। ढुंगाना समूहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पूर्ण रूपमा विफल भइसकेको दाबी गर्दै अब राजनीतिक दल र नागरिक समाज सम्मिलित सर्वपक्षीय सरकार गठन हुनुपर्ने माग अघि सारेको हो।
प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ढुंगानाले प्रणाली नै ध्वस्त भएको वर्तमान अवस्थामा केवल वैधानिकताको मात्र चर्चा गरेर समाधान ननिस्कने तर्क गरे।
ढुंगानाले नयाँ र पुराना सबै शक्तिहरूलाई समेटेर सर्वसहमतिमा सरकार बनाएर मात्रै निर्वाचनमा जानुपर्ने अडान राखेका छन्। यद्यपि, यस्तो सर्वपक्षीय सरकारको नेतृत्व भने पुराना कुनै पनि शीर्ष नेताहरूले गर्न नपाउने उनको समूहको मुख्य सर्त रहेको छ।
उनले प्रणाली बिग्रिसकेको अवस्थामा वैधानिकताको आड लिएर बसिरहनुको कुनै अर्थ नहुने भन्दै राजनीतिक गतिरोध अन्त्यका लागि सर्वसहमति नै निर्विकल्प बाटो भएको उल्लेख गरे। कार्की नेतृत्वको सरकारले युवा पुस्ताको भावना र आन्दोलनको उद्देश्यलाई सम्बोधन गर्न नसकेकाले आफूहरू पुनः सडकमा आउनुपरेको ढुंगाना समूहको भनाइ छ।