arrow

सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने तरिका भत्कियोः महामन्त्री थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
gagan-thapa-27-09.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लामो समयदेखि पार्टी सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने तरिका अब भत्किएको बताएका छन् । पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले विशेष महाधिवेशन कोही बन्ने नबन्ने विषय नभई संघर्षको विषय भएको बताए । विशेष महाधिवेशन आफूहरूको नभई प्रतिनिधिको मागअनुसार आह्वान भएको भन्दै उनले बन्द सत्रले जे निष्कर्ष निकाले पनि स्वीकार्य हुने बताए ।

उनले कांग्रेस लासहरूको पार्टी नभई जिउँदा मानिसहरूको पार्टी भएको स्थापित भएको टिप्पणी गरे ।

उनले भने, ‘लामो समयदेखि पार्टी सञ्चालनको जुन तरिका थियो आजदेखि त्यो भत्कियो। अब कसैले पनि पार्टीको सदस्यलाई हेप्न सक्दैन । अब माथि बस्नेले तल बस्नेलाई सलाम गर्नुपर्छ तलबाट माथि होइन । यो संघर्ष पार्टीभित्रको कोही बन्ने नबन्ने भन्ने संघर्ष होइन । पार्टी कसरी चलाउने भन्ने विषयसँग जोडिएको विषय पनि हो । भोलि बन्दसत्र छ । यो कहाँ गएर टुंगिन्छ मलाई थाहा छैन । मैले पार्टी केन्द्रको रुपमा यो महाधिवेशनको आयोजना गरेको भए यसको एजेण्डा यो यो छ सम्भवतः यहाँ गएर टुंगिन्छ भनेर भन्नसक्थे होला । यो त सदस्यहरूले मागेर भएको महाधिवेशन हो । तपाईहरूले नीति पनि बदल्ने नेता पनि बदल्ने भनेर माग्नुभएको छ । मैले मागेको होइन तपाईहरूले माग्नुभएको छ । यो कहाँ गएर टुंगिन्छ मलाई थाहा छैन । किनभने म पनि तपाईंहरूले बोलाएर आएको एउटा पाहुना मात्रै हुँ । भोलि बन्द सत्रले जे निर्णय गर्छ त्यो मेरो लागि स्वीकार्य छ । आजको तपाईको प्रयासहरूले एउटा कुरा स्थापित गरेको छ, कांग्रेस लासहरूको नभई जिउँदा मानिसहरूको पार्टी हो भनेर स्थापित गरेको छ ।’

उनले काँग्रेसमा प्रश्न नमरेको जिकिर गर्दै यहाँ नबोल भन्ने कोही नभएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ