काठमाडौँ । म्यानमारले आइतबार बिहान सय वटा टाउनसिपहरूमा मतदान केन्द्रहरू खोलेसँगै आफ्नो बहुदलीय लोकतान्त्रिक आम निर्वाचनको दोस्रो चरण शुरू गरेको छ ।
दोस्रो चरणका लागि तोकिएका क्षेत्रमा स्थानीय समयअनुसार बिहान ६ बजेदेखि मतदान शुरू भएको छ । जसमा १४ मध्ये १२ ओटा क्षेत्र र राज्यहरूका शहरी र ग्रामीण निर्वाचन क्षेत्रहरू समावेश छन् ।
आम निर्वाचन तीन चरणमा सम्पन्न भइरहेको छ । पहिलो चरण गत वर्ष डिसेम्बर २८ मा एक सय दुई टाउनसिपहरूमा भएको थियो भने तेस्रो चरण जनवरी २५ का लागि ६३ ओटा टाउनसिपहरूमा तय गरिएको छ ।
गत वर्ष डिसेम्बर २८ मा भएको पहिलो चरणको निर्वाचनपछि सङ्घीय निर्वाचन आयोग (यूईसी) ले पिथु ह्लुटा (तल्लो सदन) का लागि सय भन्दा बढी, अमिओथा ह्लुटा (माथिल्लो सदन) का लागि ३० भन्दा बढी र क्षेत्र तथा राज्य ह्लुटा (प्रदेश र क्षेत्र संसद) का लागि सय भन्दा बढी प्रतिनिधि निर्वाचित भएको घोषणा गरेको थियो ।
यूईसीले निर्वाचनका तीन चरणको मतदानले देशभरका कुल छ सय ९२ निर्वाचन क्षेत्रहरूलाई समेट्ने र ५७ राजनीतिक दलका करिब पाँच हजार उम्मेदवारहरू पिथु ह्लुटा, अमिओथा ह्लुटा र प्रदेश तथा क्षेत्र ह्लुटाका सिटका लागि प्रतिस्पर्धा गरिरहेका बताएको छ ।
यस निर्वाचनले सङ्घीय संसद (पिथु ह्लुटा र अमिओथा ह्लुटा) र प्रदेश तथा क्षेत्र संसदका निर्वाचित सदस्यहरू चयन गर्नेछ।
नयाँ सङ्घीय संसदले त्यसपछि नयाँ राष्ट्रपति निर्वाचित गर्नेछ । जसले नयाँ सङ्घीय सरकार गठन गर्नेछ ।
यूईसीले आम निर्वाचनका तीनै चरणका लागि देशभर २१ हजार भन्दा बढी मतदान केन्द्रहरू स्थापना गर्ने योजना बनाएको जानकारी दिएको छ ।