इरानमा 'स्वतन्त्रताको खोजी': ट्रम्पले दिए सैन्य हस्तक्षेपको चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
2k
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको वर्तमान अस्थिर परिस्थितिबारे टिप्पणी गर्दै इरानी जनता 'स्वतन्त्रताको खोजी' मा रहेको दाबी गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ट्रम्पले इरानमा दशकौँपछि पहिलो पटक यति ठूलो स्तरमा स्वतन्त्रताको लहर चलेको उल्लेख गरे। उनले स्पष्ट शब्दमा भनेका छन्, “संयुक्त राज्य अमेरिका इरानी जनतालाई सहयोग गर्न पूर्ण रूपमा तयार छ।”
अमेरिकी चेतावनी र 'रेड लाइन' राष्ट्रपति ट्रम्प र अन्य वरिष्ठ अमेरिकी अधिकारीहरूले इरानी सरकारलाई शान्तिपूर्ण प्रदर्शनकारीमाथि बल प्रयोग नगर्न बारम्बार चेतावनी दिँदै आएका छन्। ट्रम्पले चेतावनी दिँदै भनेका छन्— यदि विगतमा जस्तै प्रदर्शनकारीहरूको हत्या गरियो वा दमन गरियो भने अमेरिका हात बाँधेर बस्ने छैन। उनले थपे, “हामी परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ, यदि गोली चल्यो भने वासिङ्टनले 'धेरै कडा' कदम चाल्नेछ।”
इरानको प्रतिक्रिया र आर्थिक संकट इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपतिको भनाइलाई इरानी जनताप्रतिको 'निरन्तर शत्रुता' को प्रतिविम्ब भनेको छ। इरानको सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले यी प्रदर्शनहरूलाई विदेशी शक्तिहरूले उक्साएको 'भडकाउ गतिविधि' को संज्ञा दिएका छन्।
स्मरणीय छ कि इरानी मुद्रा 'रियाल' को मूल्यमा आएको तीव्र गिरावट, बढ्दो महँगी र वर्षौंदेखिको आर्थिक कठिनाइलाई लिएर डिसेम्बरको अन्त्यदेखि इरानका विभिन्न सहरहरूमा उग्र प्रदर्शन भइरहेका छन्। इरानी अधिकारीहरूले जनताका आर्थिक गुनासाहरू जायज रहेको स्वीकार गरे पनि हिंसा र तोडफोडमा उत्रिए कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
जुन महिनामा इरानी आणविक केन्द्रहरूमा भएको इजरायली र अमेरिकी हवाई हमलापछि इरानको अर्थतन्त्र र राजनीतिक स्थिरतामा ठूलो धक्का लागेको विश्लेषकहरूले बताएका छन्।