जेन-जी आन्दोलनमा सार्वजनिक संस्थानमा मात्रै ९५ करोडको क्षति
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
798
Shares
काठमाडौँ । जेन-जी आन्दोलनका बेला सार्वजनिक संस्थानमा मात्रै ९५ करोड बराबरको क्षति पुगेको सरकारी अध्ययन प्रतिवेदनले देखाएको छ ।
क्षतिको जाँचबुझ गर्न गठित सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनअनुसार सार्वजनिक संस्थानको स्वामित्व वा भोगचलनमा रहेका सम्पत्तिको क्षति रकम ९५ करोड ६२ लाख रहेको छ ।
सार्वजनिक संस्थानमा भएको कुल क्षति रकममध्ये भवनतर्फ ४३दशमलव१ प्रतिशत, सवारी साधनतर्फ १६दशमलव१ प्रतिशत, अन्य भौतिक सम्पत्ति तर्फ ३७दशमलव४ प्रतिशत र अन्यमा ३दशमलव३ प्रतिशत क्षति भएको छ ।
प्रतिवेदनअनुसार संस्थानका नेपाल सरकारअन्तर्गतका २६ ओटा भवनमा क्षति पुगेको छ । भने प्रदेश सरकार मातहत रहेका संस्थानका तीन ओटा भवनमा क्षति पुगेको छ ।
कुल ४१ करोड २४ लाख बराबरको क्षति पुगेको छ भने संस्थानका करिब एक सय नौ ओटा सवारी साधनमा क्षति पुगेको छ । संस्थानका सबारी साधनको क्षति करिब १४ करोड ३६ लाख बराबरको रहेको छ ।
यता निजी तथा सामुदायिक क्षेत्रले जेन-जी आन्दोलनका बेला ठूलो क्षति व्यहोर्नुपरेको सरकारी अध्ययन प्रतिवेदनले देखाएका छ ।
प्रतिवेदनअनुसार निजी तथा सामुदायिक क्षेत्रमा भएको क्षतिअनुसार निजी प्रतिष्ठान तथा घर परिवारमा कुल क्षति रकम ३३ अर्ब ५४ करोड ८७ लाख र सामुदायिक तथा अन्य क्षेत्रमा भएको क्षति रकम ५ अर्ब ९७ करोड १७ लाख छ ।
प्रतिवेदनअनुसार निजी क्षेत्रको स्वामित्व वा भोगचलनमा रहेको स्थायी एवं अस्थायी सम्पत्तिमा गरी कुल २७ अर्ब ४९ करोड ३ लाख क्षति पुगेको देखिन्छ जुन निजी तथा सामुदायिक क्षेत्रमा भएको कुल क्षति रकमको ६९दशमलव८ प्रतिशत हो ।
यो क्षेत्रले व्यहोरेको कुल क्षतिमा भवनको आगजनी तथा तोडफोडबाट भएको क्षतिको अंश सबैभन्दा ठूलो ४५.२ प्रतिशत रहेको छ । त्यसपछि अन्य भौतिक सम्पत्तिको क्षति २७.४ प्रतिशत, अस्थायी सम्पत्ति तथा अन्य निजी सम्पत्तिको २१.७ प्रतिशत र सवारी साधनको क्षति ३.४ प्रतिशत छ ।
समग्र रूपमा हेर्दा क्षतिको भार भवन तथा स्थायी सम्पत्तिमा बढी रहेकाले उत्पादन, सेवा र रोजगारी क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।