संसदीय समितिमा निम्त्याइए तीनै सुरक्षा निकायका प्रमुख
बारुदी सुरुङ र सुरक्षा चुनौतीबारे प्रधानसेनापति र आईजीपीले धारणा राख्दै
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
801
Shares
काठमाडौँ। संघीय संसद्अन्तर्गत आज शुक्रबार बस्ने राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा देशको शीर्ष सुरक्षा नेतृत्व सहभागी हुँदैछ।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बिहान ११:३० बजे बस्ने समितिको ३१६औँ बैठकमा बारुदी सुरुङ र विस्फोटक पदार्थको व्यवस्थापनका साथै यससँग जोडिएका सुरक्षा चुनौतीबारे गहन छलफल हुने कार्यसूची रहेको छ।
विषयको संवेदनशीलता र गाम्भीर्यतालाई ध्यानमा राख्दै समितिले मुलुकका तीनवटै सुरक्षा निकायका प्रमुखहरूलाई आमन्त्रण गरेको छ। बैठकमा नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी बलका सहरी महानिरीक्षक राजु अर्याल सहभागी हुनेछन्।
सुरक्षा प्रमुखहरूले नेपालमा बारुदी सुरुङको वर्तमान अवस्था, विष्फोटक पदार्थको भण्डारण तथा प्रयोगको सुरक्षा मापदण्ड र यसले निम्त्याउन सक्ने जोखिम न्यूनीकरणका लागि अपनाइएका रणनीतिबारे समितिलाई जानकारी गराउनेछन्।
आजै बिहान ११:३० बजे सिंहदरबारमै विधायन व्यवस्थापन समितिको १५४ औं बैठक समेत बस्दैछ। उक्त बैठकमा भने पर्यटन विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ।
पर्यटन क्षेत्रलाई थप व्यवस्थित र परिष्कृत बनाउने लक्ष्य राखिएको यस विधेयकमाथि हुने छलफलले मुलुकको आर्थिक विकासको आधार मानिने पर्यटन क्षेत्रको कानुनी संरचनालाई नयाँ स्वरूप दिने अपेक्षा गरिएको छ। यी दुवै समितिका बैठकबाट प्राप्त हुने निष्कर्ष र सुझावहरूले देशको कानुन निर्माण र राष्ट्रिय सुरक्षा नीतिमा दूरगामी महत्व राख्ने देखिएको छ।