महाधिवेशनको सन्देश गाउँ-गाउँ पुर्याउन एमालेको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
687
Shares
काठमाडौँ । नेकपा (एमाले) ले भर्खरै सम्पन्न आफ्नो एघारौँ राष्ट्रिय महाधिवेशनको सन्देश र निर्णयहरूलाई जनस्तरसम्म पुर्याउन मातहतका सबै कमिटीहरूलाई कडा निर्देशन दिएको छ। पार्टी केन्द्रीय सचिवालयको निर्णयअनुसार जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानि) मा मंसिर २७ देखि पुस ३ गतेसम्म भएको महाधिवेशनका ऐतिहासिक उपलब्धिहरूलाई व्यापक रूपमा जनतासमक्ष लैजान भनिएको हो।
एमालेले यस महाधिवेशनलाई दुईवटा मुख्य उद्देश्यमा केन्द्रित रहेको बताएको छ: १. प्रतिगमनविरुद्ध व्यापक जनमत निर्माण गर्ने। २. भदौ २३ र २४ गतेका घटनाबाट सिर्जित राष्ट्रिय राजनीति र पार्टीभित्रका समस्याहरूको विधिसम्मत समाधान खोज्ने। अन्तरपार्टी निर्देशनमा यी दुवै उद्देश्य हासिल गर्न महाधिवेशन पूर्ण रूपमा सफल भएको दाबी गरिएको छ।
महाधिवेशनका क्रममा नेतृत्व चयनलाई लिएर देखिएका बहस, विवाद र समूहबन्दी अब पूर्ण रूपमा समाप्त भएको एमालेको निष्कर्ष छ। निर्देशनमा भनिएको छ, ‘निर्वाचनका समयमा देखिएका समूहबन्दी त्यहीँ सकिएको छ। अहिले पार्टी वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा पुनः एकताबद्ध भएको छ।’ पार्टीले अबको पाँच वर्षका लागि नीति र नेतृत्वको प्रश्न विधिसम्मत रूपमा निरूपण भइसकेकाले सबैलाई नीति र नेतृत्वको वरिपरि गोलबन्द हुन आह्वान गरेको छ।
एमालेले विगतका राजनीतिक घटनाक्रम, विशेष गरी भदौ २३ र २४ गतेका घटनालाई राष्ट्रको जीवनमा गम्भीर र दुःखद मोडको रूपमा व्याख्या गरेको छ। ती घटनाले संविधानलाई घायल बनाएको, प्रतिनिधिसभा असंवैधानिक ढंगले विघटन गरिएको र जननिर्वाचित सरकारको स्थान संविधानले नचिनेको सरकारले लिएको आरोप एमालेको छ।
आन्दोलनकारी ढंगले अघि बढ्ने पार्टीले अबको मुख्य लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्य हासिल गर्न एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नु रहेको जनाएको छ। प्रतिनिधिसभा पुनस्र्थापना वा निर्वाचन—जुनसुकै मोर्चामा सफलता प्राप्त गर्न पार्टी पंक्ति एकताबद्ध भएर आन्दोलनकारी ढंगले अघि बढ्नुपर्ने निष्कर्ष निर्देशनमा निकालिएको छ। साथै, राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षाका लागि समेत पार्टी संघर्षशील रहने प्रतिवद्धता एमालेले जनाएको छ।