arrow

कुलमानको राजीनामा पछि तीन मन्त्रालयको जिम्मेवारी बाँडफाँट

सिन्हालाई ऊर्जा, चौलागाईंलाई भौतिक र इङ्नामलाई सहरी विकास मन्त्रालय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
cabinet-82-7-12.jpg

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले रिक्त रहेका तीन महत्त्वपूर्ण मन्त्रालयको कार्यभार सम्हाल्ने गरी मन्त्रीहरूको जिम्मेवारीमा हेरफेर र थप गरेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री कुलमान घिसिङले मङ्गलबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा यी मन्त्रालयको कार्यभार अन्य बहालवाला मन्त्रीहरूलाई सुम्पिएको हो। मन्त्री घिसिङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सक्रिय हुने उद्देश्यका साथ आफ्नो पद त्याग गरेको बुझिएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनीलकुमार सिन्हालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको थप जिम्मेवारी सुम्पिएका छन्। सिन्हाले अब आफ्नो साविकको मन्त्रालयसँगै ऊर्जा क्षेत्रको पनि नेतृत्व गर्नेछन्।

त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंलाई तोकिएको छ भने सहरी विकास मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामलाई दिइएको छ। निर्वाचनको पूर्वसन्ध्यामा मन्त्रिपरिषद्का प्रभावशाली सदस्य घिसिङको राजीनामा पछि सरकारले प्रशासनिक र नीतिगत कार्यलाई निरन्तरता दिन यो अन्तरिम व्यवस्था गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ