बदलिँदो रास्वपा: राजनीतिक प्रतिशोध त्यागेर जिम्मेवार बन्न रविको आह्वान
गाली-गलौज त्याग्न र सु-संस्कृत बन्न कार्यकर्तालाई निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
1.8k
Shares
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आसन्न निर्वाचनका समयमा पार्टीका नेता तथा कार्यकर्ताहरूलाई अत्यन्तै संयमित र जिम्मेवार भएर प्रस्तुत हुन कडा निर्देशन दिएका छन्। चितवनको भरतपुरस्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपामाथि लाग्ने गरेको 'गाली-गलौज' को आरोपलाई व्यवहारबाटै चिर्नुपर्नेमा जोड दिए।
गाली-गलौज त्यागेर सु-संस्कृत बन्न आग्रह सभापति लामिछानेले पार्टी समर्थकहरूमाथि लाग्ने गरेको नकारात्मक टिप्पणीका बारेमा खुलेर कुरा गरे। उनले भने, “रास्वपालाई एउटा आरोप छ— रास्वपाका समर्थकहरू गाली-गलौज गर्छन्। अब हामी त्यसबाट माथि उठेर सु-संस्कृत बन्नुपर्नेछ। यो समय सुझबुझका साथ अघि बढ्ने बेला हो।” उनले आफ्ना समर्थकहरूलाई आक्रामक शैलीभन्दा पनि जिम्मेवार र तर्कपूर्ण प्रस्तुतिमा ध्यान दिन आग्रह गरे।
निर्वाचन बिथोल्ने काम नगर्न चेतावनी निर्वाचनलाई लोकतन्त्रको सबैभन्दा सुन्दर पक्षका रूपमा व्याख्या गर्दै लामिछानेले बेथितिको अन्त्य गर्ने उत्तम उपाय निर्वाचन नै भएको बताए। उनले कार्यकर्ताहरूलाई कतैबाट पनि चुनाव बिथोल्ने गतिविधि नगर्न सचेत गराउँदै भने, “निर्वाचनको विकल्प निर्वाचन नै हो। चुनाव बिथोल्ने कुरा बन्द गर्नुहोला। कहीँ कतैबाट यस्तो काम नहोस्।”
प्रतिशोधको राजनीति नगर्ने उद्घोष रास्वपाले कसैप्रति पनि राजनीतिक प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पार्दै उनले पार्टीलाई सिङ्गो देश र नयाँ पुस्ताको सपना पूरा गर्ने माध्यम बनाउनुपर्ने बताए। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्ने सक्षम उम्मेदवार छनोट गर्ने प्रक्रियामा पार्टी लागेको समेत उनले जानकारी दिए। यो सम्बोधनले आगामी निर्वाचनमा रास्वपालाई थप 'गम्भीर' र 'मर्यादित' शक्तिका रूपमा स्थापित गर्ने लामिछानेको चाहनालाई झल्काएको छ।