नेपाल फिनटेक एक्स्पो २०२६ मा आइमार्कबाट फेवामिनि पीओएस उपकरण सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
845
Shares
काठमाडौँ । नेपाल फिनटेक अलायन्सद्वारा आयोजना गरिएको नेपाल फिनटेक एक्स्पो २०२६ मा फिनटेक कम्पनी आइमार्कले साउन्ड बक्ससहितको अत्याधुनिक क्यूआर तथा कार्ड भुक्तानी उपकरण फेवामिनि पीओएस औपचारिक रूपमा सार्वजनिक गरेको छ।
एक्स्पोमा प्रस्तुत गरिएको आइमार्कको यो नयाँ समाधानले बैंक, फिनटेक कम्पनी तथा व्यवसायिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय ध्यान आकर्षित गरेको थियो। आइमार्कद्वारा सार्वजनिक गरिएको यो उपकरण ट्याक्सी, अस्पताल, मार्ट, विद्यालय, डिपार्टमेन्ट स्टोरलगायत साना खुद्रा व्यापारीदेखि ठूला व्यवसायिक संस्थासम्म सहज रूपमा प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको हो ।
उपकरणले स्टाटिक तथा डायनामिक क्यूआर भुक्तानीका साथै भिसा, मास्टरकार्ड, नेपालपे लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डेबिट तथा क्रेडिट कार्डहरू स्वीकार गर्दछ। साथै यसले अन्य विभिन्न भुक्तानी स्किमहरूलाई पनि समर्थन गर्दै कन्ट्याक्ट तथा कन्ट्याक्टलेस दुवै माध्यमबाट भुक्तानी सम्भव बनाउँछ ।
भुक्तानी सफल भएपछि तुरुन्तै आवाजमार्फत पुष्टि दिने साउन्ड बक्स सुविधाले कारोबारलाई थप पारदर्शी, सुरक्षित र विश्वसनीय बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।
यो समाधान एचनसीएचएल र अरु बैंकको स्मार्टभिस्टा स्विच, कम्पास प्लस स्विच तथा एस२एम स्विचमा आधारित बैंकिङ प्रणालीहरूसँग पूर्ण रूपमा एकीकृत रहेको छ । उपकरण रिमोट म्यानेजेबल भएकाले प्रणालीको निगरानी, व्यवस्थापन तथा सफ्टवेयर अपडेट सहज रूपमा गर्न सकिन्छ ।
साथै आइमार्कद्वारा उपलब्ध गराइएको मर्चेन्ट ड्यासबोर्डमार्फत व्यापारीहरूले आफ्ना कारोबार, सेटलमेन्ट तथा रिपोर्टहरूको रियल टाइममा जानकारी प्राप्त गर्न सक्छन् । कुनै प्राविधिक समस्या उत्पन्न भएमा आइमार्कको २४/७ ग्राहक तथा प्राविधिक सहयोग सेवा उपलब्ध रहने कम्पनीले जनाएको छ ।
उपकरण सार्वजनिक गर्ने कार्यक्रममा आइमार्कका चिफ अफिसर सीओओ सुयश चन्दले प्रत्यक्ष रूपमा उपकरणको लाइभ डेमो प्रस्तुत गर्दै यसको प्रयोग विधि, विभिन्न प्रयोगात्मक कारण तथा प्रविधिक पक्षबारे विस्तृत जानकारी दिएका थिए ।
उनले साना व्यापारीदेखि ठूला संस्थासम्म कसरी एउटै उपकरणबाट क्यूआर, कार्ड र साउन्ड बक्समार्फत सुरक्षित तथा द्रूत भुक्तानी सम्भव हुन्छ भन्ने कुरा स्पष्ट पारे । साथै डिजिटल भुक्तानी विस्तारमा यस्तो समाधानको महत्व, स्केलेबिलिटी, सुरक्षा संरचना तथा नेपालको डिजिटल बैंकिङ इकोसिस्टमसँग यसको सामञ्जस्यबारे पनि प्रकाश पारे।
त्यसैगरी आइमार्कका चिफ ग्लोबल सेल्स अफिसर सागर पोखरेलले “यो समाधान साना तथा ठूला सबै व्यापारीलाई डिजिटल भुक्तानी प्रणालीमा सहज रूपमा जोड्दै नेपालको डिजिटल भुक्तानी इकोसिस्टमलाई अझ अगाडि लैजाने एक क्रान्तिकारी कदम हो” भन्दै आइमार्कको दीर्घकालीन दृष्टिकोण र नवप्रवर्तनप्रतिको प्रतिबद्धता व्यक्त गरे।
एक्स्पो अवधिभर आइमार्कले साउन्ड बक्स उपकरणसँगै विभिन्न पुस्ताका पीओएस टर्मिनलहरू, एटीएम कार्डहरू तथा आफ्नै इन–हाउस बैंकिङ समाधानहरू पनि प्रदर्शन गरेको थियो ।
यसले आइमार्कको प्रविधिक क्षमता, नवप्रवर्तनशील सोच तथा नेपालसहित अन्तर्राष्ट्रिय बजारलाई लक्षित व्यापक फिनटेक समाधान प्रस्तुत गर्ने क्षमतालाई उजागर गरेको आयोजक तथा सहभागीहरूले बताएका छन् ।