निर्वाचन सुरक्षामा नेपाली सेनाको ‘अभय कवच’: ८० हजार फौज मैदानमा होमिँदै
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
702
Shares
काठमाडौँ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन नेपाली सेनाले आफ्नो तयारीलाई तीव्र पारेको छ। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार यस पटकको निर्वाचनमा सेनाले करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।
निर्वाचन सुरक्षाका लागि 'एकीकृत सुरक्षा योजना २०८२' सरकारबाट अनुमोदन भई राष्ट्रपतिबाट समेत स्वीकृत भइसकेकाले सोही योजनाअनुरूप फौज परिचालन गरिनेछ। सेनाले निर्वाचनभन्दा एक महिना अघिदेखि नै फिल्डमा खटिएर आफ्नो जिम्मेवारी सम्हाल्ने रणनीति तय गरेको छ।
निर्वाचनका सिलसिलामा सेनाले मुख्य गरी तीन चरणमा कार्यसम्पादन गर्नेछ। निर्वाचनपूर्वको समयमा मतपत्र छपाइको सुरक्षादेखि विमानस्थल, कारागार र अन्य महत्त्वपूर्ण राष्ट्रिय संरचनाहरूको सुरक्षा जिम्मेवारी सेनाले बहन गर्नेछ।
यसका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनसँगको समन्वयमा तल्लो तहसम्म निर्वाचनसँग सम्बन्धित एकीकृत तालिम र अभ्यासहरू सञ्चालन गरिनेछन्। मतदानका दिनमा भने नेपाली सेना सुरक्षाको 'तेस्रो घेरा' मा रहेर राजनीतिक दल, उम्मेदवार, मतदाता र कर्मचारीहरूलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन खटिनेछ।
मतदान सम्पन्न भएपछि मतपेटिकाको सुरक्षित ढुवानी र मतगणना स्थलको कडा पहरा दिने जिम्मेवारी पनि सेनाकै हुनेछ। विगतका निर्वाचनमा जस्तै यसपटक पनि देशका विभिन्न स्थानमा अस्थायी सुरक्षा बेसहरू स्थापना गर्ने तयारी गरिएको छ।
हाल प्रदेशस्तरमा सञ्चालन भइरहेका सुरक्षा गोष्ठीहरूबाट प्राप्त सुझावका आधारमा परिस्थितिको विश्लेषण गरी सुरक्षा प्रबन्धलाई थप मजबुत बनाइने सेनाले जनाएको छ। राज्यको प्राथमिक कार्यभारको रूपमा रहेको निर्वाचनलाई स्वच्छ र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायसँग सहकार्य गर्दै आफूहरू पूर्ण रूपमा तयार रहेको सन्देश सेनाले दिएको छ।