धार्मिक र सामाजिक सद्भाव कायम राख्न गृहको १० बुँदे सर्कुलर
सद्भाव खलबलाउनेलाई तत्काल पक्राउ गरी कारबाही गर्न सर्कुलर
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
683
Shares
काठमाडौँ । गृह मन्त्रालयले तराई–मधेससहित देशका विभिन्न भागमा धार्मिक तथा सामाजिक सद्भाव खलबलाउने गतिविधि बढेपछि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ।
मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीले मंगलबार जारी गर्नुभएको निर्देशनमा जिल्ला तहमा धार्मिक सहिष्णुता कायम राख्न गरिएका पहल र प्रगतिको विवरण माग गरिएको छ।
सर्कुलरको मुख्य प्राथमिकतामा कानुनले निषेध गरेका गैरकानुनी क्रियाकलापमा संलग्न हुने जो कोहीलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया सुरु गर्न सबै प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ।
यसैगरी, सद्भाव र सहिष्णुता प्रवर्द्धनका लागि राजनीतिक दल, धार्मिक तथा सामाजिक क्षेत्रका अगुवाहरूसँग समन्वय बैठक गरी सार्वजनिक आह्वान गर्न र सबै पक्षको सहभागितामा सद्भाव र्याली आयोजना गर्न भनिएको छ। सीमा क्षेत्रमा हुने आवागमनमा कडाइका साथ चेकजाँच गर्न र स्थानीय सञ्चार माध्यमबाट स्थानीय भाषामै सामाजिक सद्भाव बढाउने कार्यक्रम सञ्चालन गर्न समेत गृहको निर्देशन छ।
गृहको सर्कुलरअनुसार अब प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय 'जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति' गठन गरिनेछ। यस समितिमा सुरक्षा निकायका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, बार एसोसिएसनका जिल्ला अध्यक्ष र जिल्ला समन्वय समितिका प्रतिनिधि सदस्य रहनेछन्।
समितिले विगतका घटनाहरूको अभिलेखका आधारमा विवाद हुन सक्ने सम्भावित कार्यक्रम वा पर्वहरूको सूची तयार गरी वार्षिक क्यालेन्डर बनाएर काम गर्नुपर्नेछ। यो कदमले स्थानीय स्तरमा हुन सक्ने साम्प्रदायिक तनावलाई न्यूनीकरण गर्ने विश्वास मन्त्रालयले लिएको छ।