ईक्यानमा चुनावी सरगर्मी, नेतृत्वमा पौडेल र भुसाल पक्षबीच प्रतिस्पर्धा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
935
Shares
तस्बिर : अध्यक्षका उम्मेदद्वारद्वय लक्ष्मण (बायाँ) र दीपकराज (दायाँ )।
काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को २०औं साधारण सभा यही २८ पुसमा हुन गइरहेको छ । यस चुनावी साधारण सभाले नेतृत्व परिवर्तन गर्नेछ । अहिले चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ ।
अध्यक्षका लागि हालका प्रथम उपाध्यक्ष एन्ड्रयु पौडेल (लक्ष्मण) र महासचिव दीपकराज भुसालले उम्मेद्वारी दिएका छन् । उम्मेदवारी दिने घोषणा गरेकी गीता शिवाकोटी (गितान्जली) पछि हटेपछि दुइृ जनाबीच नेतृत्वमा भिडन्त हुन लागेको हो ।
पौडेल पक्ष बलियो
अध्यक्षमा त्रिपक्षीय भिडन्त हुने लगभग तय भइरहँदा लक्ष्मणले गीतासँग राम्रो रणनीतिक सहकार्य गरेसँगै यो टिम दीपकराज टिमभन्दा बलियो देखिएको छ ।
गीताले लक्ष्मणको उम्मेदवारीमा प्रस्तावकका रूपमा रहँदै आफ्नो उम्मेदवारी उपाध्यक्षमा दर्ता गराएकी छिन् । लामो समयदेखि शिक्षा परामर्श क्षेत्रमा सक्रिय लक्ष्मणलाई एक समूहले साझा उम्मेदवारका रूपमा अघि सारेको छ ।
लक्ष्मण टिमको उपाध्यक्ष पदमा गीतासँगै वासुदेव दाहाल र पुष्पराज भट्टराई रहेका छन् । महासचिवमा नवराज केसी र सचिवमा एलबी गोले तामाङ र भुपाल केसीको उम्मेदवारी रहेको छ ।
त्यसैगरी कोषाध्यक्षमा साधना पुडासैनी र सह–कोषाध्यक्षमा भीमबहादुर थापा उम्मेदवार बनेका छन् ।
दीपकराजको टिममा उपाध्यक्षमा फिलिप डीसी, मञ्जित ढकाल, विकल्पराज पाखरेल र रत्न भट्टराई उम्मेदवार छन् । दीपकराजलाई पूर्वअध्यक्ष प्रकाश पाण्डे र वर्तमान अध्यक्ष शेषराज भट्टराईको समर्थन रहेको छ ।
लक्ष्मणले ईक्यानलाई थप व्यावसायिक, पारदर्शी र सदस्य केन्द्रित संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने दीपकले संस्थागत सुधार, नयाँ नेतृत्व र वैकल्पिक कार्यदिशासहित निर्वाचनमा होमिने जनाएका छन् ।
लक्ष्मण बलियो हुनुको पछाडि राजनीतिक प्रभाव पनि हो । नेपाली मूलधारको राजनीतिमा अहिले चार दल शीर्षमा छन् । नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र रास्वपा गरी चारै दलका प्रतिनिधिहरूका कारण उनको टिम बलियो देखिएको हो ।