काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनका कारण विवाद बढ्दा झडप हुने खतरा उत्पन्न भएपछि सानेपास्थित पार्टी कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मंगलबार पार्टीको सम्पादन समितिको बैठक शुरू हुनुपूर्व कार्यकर्ताहरुको भीड बाक्लिएपछि सुरक्षाकर्मीको संख्या बढाइएको छ । विशेष महाधिवेशन माग्ने पक्षलाई सोमबार पार्टी कार्यवाहक सभापतिले भेट्न नमानेपछि आज अवस्था अप्रिय हुने सम्भावना भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
नेतृत्वले पार्टीको विधान मिचेर विशेष महाधिवेशनमा चासो नदेखाएपछि आक्रोश बढेको छ ।
यसैबीच कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । आगामी निर्वाचनका लागि उम्मेदवारहरूको मापदण्ड तय गर्न र अन्य राजनीतिक दलहरूसँगको चुनावी तालमेलबारे ठोस निर्णय लिन यो बैठक बोलाइएको हो।
विशेष गरी राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा कांग्रेसले नेकपा एमाले र नेकपा लगायतका प्रमुख दलहरूसँग शीर्ष तहमा संवाद जारी राखेको छ।
आजको बैठकमा आफ्ना उम्मेदवारहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने र जितको आधार तय गर्न कुन–कुन शक्तिसँग सहकार्य गर्ने भन्ने विषयमा गम्भीर छलफल हुने बताइएको छ।
सत्ता समीकरण र आगामी चुनावी रणनीतिलाई लिएर कांग्रेसले लिन सक्ने नयाँ मोडलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।