वीरगञ्ज । नेपाल प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न गिरोहको जालो चिर्दै काठमाडौँदेखि भारतको मोतिहारीसम्म पुगेर नोट छाप्ने मिनी फ्याक्ट्री नै नियन्त्रणमा लिन सफल भएको छ ।
घटनाको शुरूआत पुस १५ गते मंगलबार भएको थियो । जतिबेला जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धको टोलीले गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल चोकबाट एक हजार दरका ९३ थान नक्कली नोटसहित छ जनालाई पक्राउ गरेको थियो ।
उनीहरूमाथिको प्राविधिक अनुसन्धान र बयानका आधारमा यो गिरोहको तार बारासम्म जोडिएको खुल्यो । सोही सूचनाका आधारमा बारा प्रहरीले कलैया उपमहानगरपालिका-२ का २८ वर्षीय गौरीशङ्कर यादवलाई नियन्त्रणमा लियो । जसले नक्कली नोटको मुख्य नाइके बाराको फेटा गाउँपालिका-३ घर भई हाल भारतमा बस्ने २८ वर्षीय रविकुमार श्रीवास्तव रहेको पोल खोलेका थिए ।
यस प्रकरणमा मुख्य अभियुक्त श्रीवास्तवलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलमा मेशिनसहित नेपाल आउँदै गर्दा सीमामा पक्राउ गरिएको भन्ने चर्चा चले पनि वास्तविकता भने फरक रहेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।
अनुसन्धानबाट श्रीवास्तवले भारतको मोतिहारीस्थित मुफस्सिल थाना क्षेत्रको लाला टोल (पटौना) मा कोठा भाडामा लिएर नक्कली नोट छाप्ने धन्दा चलाइरहेको खुलेको थियो ।
यो सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बारा एक विशेष टोलीले भारतीय प्रहरी (बिहार पुलिस) को समन्वयमा सिधै मोतिहारीस्थित श्रीवास्तवको डेरामा 'छापामारी' गरेको थियो ।
उक्त छापामारीका क्रममा प्रहरीले कोठाभित्रैबाट नक्कली नोट छाप्न प्रयोग भइरहेको रङ्गिन प्रिन्टर एक थान, कम्प्युटर मोनिटर एक थान लगायतका उपकरणहरू बरामद गरेको छ । साथै खानतलासी गर्दा श्रीवास्तवको साथबाट भारतीय रुपैयाँ ५०० दरका ३१७ थान नक्कली नोटसमेत फेला परेको छ ।
काठमाडौँबाट शुरू भएको यो गम्भीर अनुसन्धानले सीमापारि बसेर नेपाल तथा भारतमा नक्कली नोटको जालो फैलाउने अन्तरदेशीय गिरोहको पर्दाफास जिल्ला प्रहरी कार्यालय बाराले गरेको भएता पनि मुद्दा चलाउन अभियुक्तहरूलाई काठमाडौँ लैजान प्रहरी प्रधान कार्यालयबाट हस्तक्षेप भएकोमा काम गर्ने हनुमान पगडी गुथ्ने ढेडु' भन्ने उखान चरितार्थ भएकोमा बारा प्रहरीको नेतृत्व असन्तुष्ट भएको बताइन्छ ।
जे भए पनि प्रहरीले यो अप्रेशनलाई भने सफल बनाएको छ ।