काठमाडौँ। टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन वार्तामा भेनेजुएलाको राजनीतिक स्थिरता र अन्तर्राष्ट्रिय कानूनको रक्षाका लागि विशेष जोड दिएका छन्।
अमेरिकी सेनाले भेनेजुएलामा शृङ्खलाबद्ध आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएको खबर सार्वजनिक भएलगत्तै एर्दोगानको यो कडा कूटनीतिक कदम आएको हो।
मन्त्रिपरिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै एर्दोगानले भेनेजुएलालाई अस्थिरताको खाडलमा धकेल्न नहुने स्पष्ट पारे। उनले विश्वको कुनै पनि कुनामा हुने राजनीतिक वैधानिकता र अन्तर्राष्ट्रिय कानूनको उल्लंघनलाई टर्किएले कहिल्यै समर्थन नगर्ने बताए।
एर्दोगानले ट्रम्पसँगको वार्तामा टर्किएको गम्भीर चिन्ता व्यक्त गर्दै कुनै पनि देशको सार्वभौम अधिकार र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्नु जोखिमपूर्ण हुने र यसले विश्वव्यापी रूपमा गम्भीर जटिलता निम्त्याउन सक्ने चेतावनी दिए।
उनले भेनेजुएलाका राष्ट्रपति मादुरो र त्यहाँका जनता सधैं टर्किएको असल मित्र रहेको उल्लेख गर्दै टर्किएले सधैं भेनेजुएली जनताको हितमा वकालत गर्ने प्रतिवद्धता जनाए। कानूनको शासनभन्दा शक्तिको कानून हावी हुने विश्व व्यवस्थाले केवल द्वन्द्व मात्र निम्त्याउने बताउँदै उनले भेनेजुएलाको सुरक्षा र अखण्डताको मुद्दालाई प्राथमिकताका साथ उठाए।
अमेरिकी सैन्य हस्तक्षेपले विश्वभर व्यापक निन्दा र विरोध जन्माइरहेका बेला एर्दोगानको यो भनाइलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।