एमाले सचिवालय बैठक बस्दै: राष्ट्रियसभा निर्वाचन र नेताहरूको कार्यविभाजन मुख्य एजेण्डा
प्रदेश र जिल्ला इन्चार्जहरूलाई संयोजकको भूमिका दिने एमालेको योजना
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
1.4k
Shares
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बिहान ९ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ।
पार्टी सचिव पद्मा अर्यालका अनुसार समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा निर्वाचनका लागि भोलि हुने मनोनयन र आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डाहरू तय गर्न यो बैठक बोलाइएको हो।
बैठकमा नेताहरूको कार्यविभाजनलाई प्रमुख एजेण्डाका रूपमा अगाडि सारिएको छ। देश निर्वाचनतर्फ उन्मुख भइरहेकाले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने एमालेको तयारी छ।
यस तयारीअनुसार मुख्य–मुख्य विभागका प्रमुख तथा प्रदेश इन्चार्जहरूलाई संयोजकको जिम्मेवारी दिने र जिल्ला इन्चार्जहरूलाई पनि संयोजककै भूमिकामा परिचालन गर्ने योजना पार्टीले बनाएको छ।
यसका साथै आजको सचिवालय बैठकले यही २६ गते बस्न लागेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने निर्वाचन केन्द्रित विशेष रणनीतिहरूका बारेमा समेत आवश्यक छलफल गरी ठोस निर्णय लिने बताइएको छ।