arrow

भागबण्डा गर्दा मिल्ने कुम

देउवा, ओली र प्रचण्डबीच राष्ट्रिय सभामा 'त्रिपक्षीय' सहकार्यको संवाद [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
deuba-oli-prachanda-.jpg

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाबीच अनपेक्षित 'त्रिपक्षीय' सहकार्यको तयारी शुरु भएको छ।

'जेन-जी' आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिका कारण साना दल र नयाँ शक्तिहरूको चुनौती चिर्न पुराना दलहरू एक ठाउँमा उभिन खोजेका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल दाहाल प्रचण्डबीच छुट्टाछुट्टै र सामूहिक संवादहरू भएका छन्।

विशेषगरी भारत भ्रमणमा निस्कनुअघि प्रचण्डले ओलीसँग 'वान अन वान' संवाद गरेका थिए भने कांग्रेस नेता पूर्णबहादुर खड्का र रमेश लेखकले पनि ओलीको निवास गुण्डु पुगेर तालमेलबारे विस्तृत छलफल गरेका छन्।

यता कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको नामावली मङ्गलबारसम्ममा टुङ्गो लगाउने भएको छ। 

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार चयन र अन्य राजनीतिक दलहरूसँगको चुनावी तालमेलबारे निर्णय लिन मङ्गलबार बिहान ११ बजे पुनः बैठक बस्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयलाई लिएर अन्य दलहरूसँग शीर्ष तहमा छलफल जारी छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' सँग सिट बाँडफाँड र सहकार्यका विषयमा निरन्तर संवाद गरिरहेका छन्। 

प्रवक्ता महतले भने, "जसको भोटिङ स्ट्रेन्थ (मतभार) छ र जो निर्वाचित हुने हैसियत राख्छन्, ती सबैसँग सहकार्यको कुरा भइरहेको छ। आज बेलुका र भोलि बिहानसम्म एउटा निष्कर्ष आउनेछ र त्यसैका आधारमा भोलिको बैठकले उम्मेदवारको अन्तिम निर्णय गर्नेछ।"

राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार रहेको कांग्रेसले यसपटक आफ्ना उम्मेदवार जिताउनका लागि एमाले र नेकपाजस्ता प्रमुख शक्तिहरूसँग पनि लचकता अपनाउने सङ्केत गरेको छ। निर्वाचन आयोगले पुस २३ गतेका लागि उम्मेदवारी मनोनयनको समय तोकेकाले दलहरूमाथि उम्मेदवार छान्न दबाब बढेको छ।

एमालेले पनि तालमेलको विषयलाई संस्थागत गर्न मङ्गलबार नै सचिवालय बैठक बोलाएको छ। राष्ट्रिय सभामा आफ्नो शक्ति जोगाउन र कांग्रेस-नेकपा गठबन्धनलाई रोक्न एमालेले यो त्रिपक्षीय संवादलाई महत्व दिएको देखिन्छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ