ट्रम्पको कडा टिप्पणीले ल्याटिन अमेरिकामा हलचल: कोलम्बियामा अमेरिकी हस्तक्षेपको आशंका
राष्ट्रपति पेट्रोको कडा जवाफ– ‘एकजुट नभए हामीमाथि दासको व्यवहार हुनेछ’
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
2k
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाको नेतृत्व र ल्याटिन अमेरिकी राजनीतिबारे दिएको पछिल्लो अभिव्यक्तिले अन्तर्राष्ट्रिय कूटनीतिमा नयाँ विवाद र संशय पैदा गरेको छ। वासिङ्टनमा पत्रकारहरूसँग बोल्दै ट्रम्पले कोलम्बियालाई ‘एउटा बिरामी मानिसले चलाएको देश’ को संज्ञा दिँदै त्यहाँको वर्तमान नेतृत्व धेरै समय नटिक्ने दाबी गरे।
सबैभन्दा विवादास्पद पक्ष त तब आयो, जब पत्रकारले यो टिप्पणी कोलम्बियामा अमेरिकी सैन्य कारबाहीको सङ्केत हो कि भनेर सोधे। जवाफमा ट्रम्पले ‘मलाई त ठीकै लाग्छ’ भनिदिएपछि कूटनीतिक वृत्तमा कोलम्बियामा सम्भावित अमेरिकी हस्तक्षेपको अड्कलबाजी र आलोचना तीव्र बनेको छ। लामो समयदेखि लागूऔषध नियन्त्रण र सुरक्षामा अमेरिकाको बलियो साझेदार रहेको कोलम्बियासँगको सम्बन्ध अहिले गम्भीर मोडमा पुगेको देखिन्छ।
यता, कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले ट्रम्पको यो ‘आक्रामकता’ विरुद्ध सम्पूर्ण ल्याटिन अमेरिकालाई एकजुट हुन आह्वान गरेका छन्। सामाजिक सञ्जाल 'एक्स' मा लेख्दै पेट्रोले दक्षिण अमेरिकी राजधानीमाथि बमबारी गर्ने विश्वको पहिलो देश अमेरिका भएको स्मरण गराउँदै ल्याटिन अमेरिका एकताबद्ध नभए ‘दास’ झैँ व्यवहार गरिने चेतावनी दिएका छन्। उनले बदलाभन्दा पनि क्षेत्रीय एकताको आवश्यकता रहेकोमा जोड दिएका छन्।
ट्रम्पको निसानामा अर्को देश क्यूबा पनि परेको छ। ‘एयर फोर्स वन’ मा पत्रकारहरूसँग कुरा गर्दै उनले क्यूबा आर्थिक रूपमा पतनको सङ्घारमा रहेको र भेनेजुएलाको तेलमा निर्भर रहेको भन्दै त्यहाँ कुनै सैन्य कारबाहीको आवश्यक नपर्ने टिप्पणी गरे। ट्रम्पका यी शृङ्खलाबद्ध कडा अभिव्यक्तिले ल्याटिन अमेरिकासँग अमेरिकाको भावी कूटनीतिक सम्बन्ध कस्तो रहला भन्नेबारे गम्भीर प्रश्न खडा गरिदिएको छ।