झापामा मानव-हात्ती द्वन्द्व: राहत वितरणसँगै मेची किनारमा वन रक्षकको 'हाइ अलर्ट' गस्ती
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
780
Shares
काठमाडौँ । झापामा जङ्गली हात्तीको आक्रमणबाट प्रभावित भएका परिवारहरूलाई चालु आर्थिक वर्षमा रू एक करोड ३७ लाख ३८ हजारभन्दा बढी राहत रकम वितरण गरिएको छ। डिभिजन वन कार्यालय झापाका अनुसार हालसम्म ८ सय ८३ पीडित परिवारले यो राहत प्राप्त गरेका छन्।
यस वर्ष हात्तीको आक्रमणमा परी चार जनाले ज्यान गुमाएका छन् भने एउटा हात्ती मृत फेला परेको छ। राहत वितरण गरिएकामध्ये गत आर्थिक वर्षका ७ सय २ जना र चालु आवका १ सय ८१ जना रहेका छन्। थप ११ परिवारका लागि रू २१ लाख राहत सिफारिस भइसकेको र केही दिनमै वितरण गरिने वन कार्यालयले जनाएको छ।
क्षतिपूर्तिको विवरणअनुसार मृतक चार जनाका परिवारलाई रू ४० लाख, सख्त घाइते दुई जनालाई रू ४ लाख र १० वटा पशुधन क्षतिका लागि रू १ लाख उपलब्ध गराइएको छ। त्यसैगरी, भण्डारण गरिएको अन्नको क्षति व्यहोरेका १ सय ८४ परिवारलाई रू १४ लाख ५३ हजार, २ सय ३५ वटा घरगोठ क्षतिका लागि रू ३७ लाख २२ हजार र ४ सय ४८ किसानको अन्नबाली नोक्सानीबापत रू ४० लाख ६२ हजार राहत प्रदान गरिएको छ। पीडितहरूका लागि मेची, कनकाई, जलथल र दमक सब-डिभिजन कार्यालयबाट निवेदन दिने व्यवस्था मिलाइएको छ। यद्यपि, राहत प्रक्रिया अझै पनि केही झन्झटिलो रहेको कर्मचारीहरू बताउँछन्।
हात्तीबाट हुने क्षति न्यूनीकरण गर्न र विशेष गरी भारतबाट हात्तीको प्रवेश रोक्न वन कार्यालयले मेची नदी किनारमा सात जना सशस्त्र वन रक्षकको विशेष गस्ती टोली परिचालन गरेको छ। वन अधिकृत हिमाल पाठकका अनुसार यो गस्तीका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष धानबालीमा कम क्षति पुगेको छ। अब आउने मकैको सिजनमा पनि सोही प्रकारको गस्तीलाई निरन्तरता दिइनेछ। जिल्लामा विद्युतीय तारवार र जैविक मार्ग निर्माण जस्ता उपायहरू अपनाइए तापनि मानव-हात्ती द्वन्द्व पूर्ण रूपमा अन्त्य हुन भने सकेको छैन।