विशेष महाधिवेशनको औचित्य पुष्टि गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नेतृत्व ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग लत्याएर अगाडि बढ्न खोज्दै, महामन्त्रीद्वय विधान नै पार्टीको मुटु हो भन्दै विशेष महाधिवेशन गर्ने पक्षमा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
2k
Shares
तस्बिर : फाइल
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय बीपीनगर सानेपामा बस्नेछ ।
यसअघि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको थियो ।
कार्यसम्पादन समितिको उक्त निर्णयसँगै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारी गरेपछि आज फेरि कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।
महामन्त्रीद्धयले विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेपछि माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन् ।
गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए ।
गत शुक्रबार भने माहोल फरक भयो । कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशन लत्याएन मात्र कि नियमित महाधिवेशन पनि बैशाखमा सार्यो । त्यसपछि फरक फरक विचार आए ।
के भन्छन् प्रवक्ता महत ?
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले समितिको कार्यकाल जेठसम्म थपेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
यसअघि गत मंसिर १५ गतेको बैठकले माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थप गरेको थियो । उनले यही पुसमा प्रस्ताव गरेको १५औँ महाधिवेशन विभिन्न समस्याका कारण हुन नसकेको कारण त्यो कार्यतालिका परिमार्जनसहित पारित गरिएको बताए ।
उनका अनुसार बैठकले अगामी २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका बुहमत सदस्यको समर्थनमा पास गरिएको हो ।
उनले भने, ‘बैठकले पार्टीको केन्द्रीय समितिको म्याद अगामी जेठ मसान्तसम्म थपिएको छ । पुसमा प्रस्ताव गरेको १५औँ महाधिवेशन विभिन्न समस्याका कारण हुन नसकेको कारण त्यो कार्यतालिता परिमार्जनसहित पारित गरेका छौँ । बैठकले अगामी २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका पास भएको छ । बिचमा पार्टीको क्रियाशील सदस्यताका टुंग्याउन सम्भव नहुने भएको कारण र आम निर्वाचन पनि अगामी फागुन २१ मा हुने भएको कारण कार्यतालिका परिमार्जन गर्नुभएको हो । यद्यपि केही साथीहरुको फरक मत आएको छ । उहाँहरुले आफ्नो कुरा आफैं राख्नुहोला ।’
के भन्छन् महामन्त्री गगन थापा ?
महामन्त्री गगनकुमार थापाले पार्टीको विधानअनुसार यही पुस मसान्तभित्र विशेष महाधिवेशन हुने दाबी गरेका छन् । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुने कि विधानअनुसार पार्टी केन्द्रको आह्वानमा हुन्छ भन्ने कुरा दुई–तीन दिनभित्रै टुंगोमा लाग्ने उनको भनाइ थियो । पुसभित्र नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन बोलाउन बाध्यकारी भएकाले शुक्रबारको कार्यसम्पादन समिति बैठकमा आफूले फरक मत राखेको उनको भनाइ छ ।
उनले भने, ‘अझै केही दिन प्रतिक्षा गर्छौं, पार्टी सभापति, कार्यवाहक सभापतिज्यूहरुले पार्टी विधानको उल्लङ्घन गर्न पाइँदैन भन्ने कुरा उहाँहरुले बुझ्नुभएको छ । एकदुई दिनभित्र आएर केन्द्रीय कार्यसम्पादन समितिको बैठक राख्नुभयो र विषेश महाधिवेशन बोलाउनुभयो भने पार्टीका लागि सर्वोत्तम कुरा त्यही नै हुन्छ । हामी पनि त्यही चाहन्छौँ । हामी अनुरोध गर्छौं । यदि पार्टीको जिम्मेवार नेताले विधानको पालना गर्नुभएन भने मैले पार्टी महामन्त्री भएर यो कुरा टुलुटुलु हेरेर बस्न मिल्दैन । बस्न सक्दिनँ । विधानको धारा १७ (२) को पालना मैले गर्छु । विशेष महाधिवेशनको आयोजना गर्छौं । यो पुसभित्रमा काठमाडौँमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको आयोजना हुन्छ । कसले गर्छ भन्ने कुरा एकदुई दिनभित्रमा प्रष्ट हुन्छ । देशभरीका महाधिवेशन प्रतिनिधि साथिहरुलाई अनुरोध गर्न चाहन्छु, तपाई पुस मसान्तमा काठमाडौँमा आउने कुराको लागि औपचारिक निम्तो केही दिनमा आउँछ । काठमाडौंमा भेट हुन्छ ।’
उनले पुस मसान्तभित्र हुने विशेष महाधिवेशनले पार्टीको अगामी नेतृत्व, नीति र कार्यदिशा तय गर्नेसमेत जिकिर गरे । उनले यसअघि नै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
आजको बैठक निर्णायक
महामन्त्री थापाले दुई तीन दिन कुर्ने भनेको आजको बैठककै लागि हो । आजको बैठकपछि महामन्त्रीद्धयले निर्णय सार्वजनिक गर्नेछन् ।
उनीहरू विशेष महाधिवेशन गरी नयाँ म्यान्डेटसहित आगामी निर्वाचनमा जानुपर्ने अडानमा छन् । त्यसो गरेमात्र पार्टी स्थायित्वमा रहने उनीहरूको दाबी छ ।
नेतृत्व भने यसमा तयार छैन । नेतृत्व मतदाताले कांग्रेसलाई बिना एजेन्डा र बिना नेतृत्व परिवर्तन नै विश्वास गर्ने दाबी गर्छ ।
आइतबार बसेको नेतृत्व निकटका नेताहरूको बैठकले विशेष महाधिवेशनलाई औचित्यहीन भनिसकेको छ । नेता कृष्णप्रसाद सिटौलाले अब चुनावको तयारी गर्ने बेलामा विशेष महाधिवेशनको औचित्य नभएको दाबी गरेका हुन् ।
यता विशेष महाधिवेशन पक्षधर भने तरमाराहरू अब केही भागमा नआउने भयो भन्ने चिन्ताका कारण अवैधानिक बाटोमा हिँडेको आरोप लगाएका छन् ।