'एमाले नेताहरूका घर जलाउनेहरू रास्वपाका कार्यकर्ता थिए' [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
858
Shares
जनकपुर । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले जेन-जी आन्दोलनका नाममा नेताहरुको घर प्रतिस्पर्धी पार्टीका कार्यकर्ताहरूले जलाएको आरोप लगाएका छन् ।
आइतबार जनकपुरधामस्थित आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गर्दै महासेठले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले एमालेका नेताहरूको घर जलाएर पछि नख्खु कारागारमा तोडफोड गर्न पुगेको दाबी गरेका छन् ।
उनले जेन-जीको नाममा भएको तान्डवलाई देश भूमिगत समूहको हातमा पुगेको बुझ्नुपर्ने बताए ।
उनले शेरबहादुर देउवामाथि भएको आक्रमणको निन्दा गर्दै केही विदेशी शक्तिलाई ठिक जस्तो लागे पनि नेपाली जनतालाई नराम्रो लागेको बताए ।
उनले एमाले नेताका घरहर: आफ्नो निजी भन्दा पनि जनताको लागि भएको बताए ।
उनले आफूले राजनीतिमा आउनु भन्दा पहिला बनाएको घर जेन-जी आन्दोलनमा आगो लगाउनु दुःखद् रहेको बताए ।
महासेठले हाल नेपालमा नयाँ शक्तिको नाममा अगाडि आएकाहरू चुनावमा जिते नेपालको हालत के हुने भन्ने चिन्ता व्यक्त गरे ।
जनताको बीचमा नगएका, कानून विपरीत काम गरेकाहरूले कागजी नयाँ शक्ति बनाएर चल्न नसक्ने उनले बताए ।
नेपालका राष्ट्रिय धरोहरका रुपमा रहेका संरचनाहरू जलाउन रातारात प्लानिङ गरिएको दाबी उनले गरे ।
उनले तीन मिनेटमा आउनुपर्ने दमकल तीन दिनपछि ललितपुरबाट मगाएर सिंहदरबार निभाउन गएकोमा आक्रोश व्यक्त गरे ।
सिंहदरबारलगायतका सरकारी कार्यालय, छानिछानी नेताहरूको राखिएको फाइलहरू जलाइएको उनले आरोप लगाए ।
विभिन्न मुद्दाहरूको फाइल र दस्तावेज नष्ट गर्न नियतवश आगजनी गरिएको उनले बताए ।
महासेठले मधेस प्रदेश सरकारको समर्थन एमालेले गरेको ठीक नरहेको बताए । उनले एमालेले समर्थन गरेकोले प्रतिपक्षमा बस्ने कोही नभएकोले सरकारलाई सचेत कसले गराउने भन्नेमा प्रश्न उठेको बताए ।
उनले संसदीय दलले केही सोच विचार गरेरै समर्थन दिएको भए पनि त्यसो गर्नु गलत रहेको धारणा राखे ।