arrow

पूर्वको बिजुली अब पश्चिमसम्म: लुम्बिनीका छ जिल्ला छिचोल्दै कुद्नेछ चार सय केभीको विद्युत् लाइन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
electricity-line.jpg

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशको आन्तरिक विद्युत् प्रसारण प्रणालीलाई सुदृढ बनाउन नयाँ बुटवल–लमही ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाएको छ। पूर्वी नेपालमा उत्पादित बिजुली पश्चिम क्षेत्रमा प्रवाह गर्न र गण्डकी करिडोरका आयोजनाहरूको विद्युत् व्यवस्थापनका लागि यो आयोजना महत्त्वपूर्ण कडी साबित हुने देखिएको छ।

आयोजनाको विस्तार र प्राविधिक पक्ष कुल १६१ किलोमिटर लम्बाइ रहने यो उच्च क्षमताको प्रसारण लाइन लुम्बिनी प्रदेशका ६ वटा जिल्लाहरू— नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची र दाङ भएर विस्तार हुनेछ। आयोजना अन्तर्गत कुल ४०५ वटा टावरहरू निर्माण गरिनेछन्। प्राधिकरणले प्रसारण लाइनका लागि ४६ मिटरको क्षेत्राधिकार (राइट अफ वे) तोकेको छ, जसअनुसार तारको केन्द्र रेखाबाट दायाँ र बायाँ २३–२३ मिटर क्षेत्र प्रभावित हुनेछ।

यस मेगा प्रोजेक्टको अर्को मुख्य विशेषता दाङको लमही नगरपालिकास्थित रिहारमा निर्माण हुने विशाल सबस्टेशन हो। रिहारमा ४००/२२०/१३२/३३/११ केभी क्षमताको बहुआयामिक सबस्टेशन निर्माण गरिने प्राधिकरणले जनाएको छ।

वातावरणीय प्रभाव र सार्वजनिक आह्वान आयोजना कार्यान्वयन गर्नुअघि प्राधिकरणले वातावरणीय अध्ययन (प्रारम्भिक वातावरणीय परीक्षण) प्रतिवेदन तयारीको काम सुरु गरेको छ। यस क्रममा आयोजनाले प्रभावित क्षेत्रको प्राकृतिक, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रणालीमा पार्न सक्ने प्रभावहरूको मूल्याङ्कन गरिँदै छ।

प्राधिकरणले एक सार्वजनिक सूचना जारी गर्दै आयोजनाबाट प्रभावित हुने क्षेत्रका बासिन्दा, स्थानीय निकाय र सरोकारवालाहरूलाई आवश्यक राय, सुझाव र सल्लाह दिन आग्रह गरेको छ। यस्ता सुझावहरू प्राधिकरणको केन्द्रीय कार्यालय दरबारमार्ग वा परामर्शदाता एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड ललितपुरमा उपलब्ध गराउन सकिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ