एफसी चितवनका अध्यक्ष सचिन ढकालद्वारा समानुपातिक सूचीबाट नाम फिर्ता, उद्यमशीलतामै केन्द्रित हुने
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १९ शनिबार
11.6k
Shares
तस्बिर : फाइल
काठमाडौँ। एफसी चितवनका अध्यक्ष तथा युवा उद्यमी सचिन ढकालले आगामी निर्वाचनका लागि राजनीतिक दलको समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। ढकालले एक आफ्नो फेसबुक पेजमा लेख्दै संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यतालाई सम्मान गर्दै व्यक्तिगत कारणवश उम्मेदवारीको सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको जानकारी दिएका हुन्।
पार्टी नेतृत्वले युवाहरूलाई अघि सार्ने उद्देश्यका साथ आफूलाई समानुपातिक सूचीमा समावेश गरेकोमा उनले आभार व्यक्त गरेका छन्। यद्यपि, तत्कालका लागि आफू उद्यमशीलताको प्रवर्द्धन र सामाजिक रूपान्तरणमै केन्द्रित रहने उनले स्पष्ट पारेका छन्।
'देशमै केही गर्ने अठोटका साथ फर्किएको हुँ' विदेशमा उच्च शिक्षा हासिल गरेपछि उतै प्राप्त आकर्षक अवसरहरू त्यागेर स्वदेशमै केही गर्ने अठोटका साथ आफू नेपाल फर्किएको ढकालले बताएका छन्। उनले भने, "स्वदेशमै उद्यम गरी देशको समृद्धिमा सकेजति इट्टा थप्छु भन्ने अठोटका साथ म स्वदेश फर्किएको हुँ। आफ्नै देशको माटो सिँचेर यहीँ सुन फलाउनुपर्छ भन्ने मेरा पिताजी चन्द्रप्रसाद ढकालको प्रेरणाबाट नै म उद्यमशीलताको विकासमा लागिपरेको छु।"
वार्षिक ५ लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको वर्तमान अवस्थामा स्वदेशमै रोजगारी सिर्जना गर्नु आफ्नो प्राथमिकता रहेको उनले उल्लेख गरे। उनले आफू हाल नेपाली अर्थतन्त्र, खेलकुद, पर्यटन तथा युवा रोजगारी सिर्जनाका क्षेत्रमा सक्रिय रहेको जानकारी दिएका छन्।
व्यावसायिक घराना र नवीन सोच कुनै व्यावसायिक घरानाको सन्तान हुनु र उसले उद्यमशीलतामार्फत देश विकासमा लाग्नु सकारात्मक पक्ष रहेको ढकालको बुझाइ छ। उनले आफ्नो पारिवारिक पृष्ठभूमिबाट प्राप्त अवसरभन्दा पनि आफूले हासिल गरेको शिक्षा र ज्ञानलाई व्यवहारमा उतार्दै उद्यमशीलता विकास गर्ने प्रयत्नमा रहेको बताए।
"म कुनै पनि व्यवसायको परम्परागत निरन्तरता भन्दा पनि नवीनता, नवउद्यम र चुनौतीपूर्ण काममा नै आफूलाई खार्ने प्रयत्न गरिरहेको छु, जुन नेपालका सबै युवाका लागि उदाहरणीय बन्न सकोस्," ढकालले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन्।
राजनीतिक प्रतिबद्धता अहिले नाम फिर्ता लिए पनि युवाहरूको सामूहिक नेतृत्वमा सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति आफू निरन्तर प्रतिबद्ध रहने उनले बताएका छन्। साथै, भविष्यमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी वहन गर्न आवश्यक परेमा सधैँ तत्पर रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
सचिन ढकालको फेसबुक स्टेटस
विदेशमा अध्ययनपश्चात उतै कैयौँ अबसरहरु प्राप्त भए पनि स्देशमै उद्यम गरी देशको समृद्धिमा सकेजति इट्टा थप्छु भन्ने अठोटका साथ म स्वदेश फर्किएको हुँ । आफ्नै देशको माटो सिँचेर यहीँ सुन फलाउनुपर्छ र स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गरी समृद्ध नेपाल निर्माणमा इमान्दार रुपले लाग्नुपर्छ भन्ने मेरा पिताजी श्री चन्द्रप्रसाद ढकालको प्रेरणाबाट नै म उद्यमशीलताको विकासमा लागिपरिरहेको छु ।
नेपाली अर्थतन्त्र, खेलकुद, पर्यटन तथा युवा रोजगारी सिर्जनाका क्षेत्रमा म हाल सक्रिय रहँदै आएको पनि छु । स्वदेशमा युवा उद्यमशीलता र रोजगारीका पर्याप्त अवसर प्राप्त नहुँदा हाल वार्षिक ५ लाखभन्दा बढी नेपाली युवा रोजगारीका लागि विदेशिने गरेको नमिठो तथ्यांक हामीसँग छ । तर, विदेशमा अध्ययन सकेर उतै उपलब्ध हुने आकर्षक अवसरलाई त्याग्दै स्वदेशमै केही गर्ने योजना, सोच र आँट लिएर कैयौँ युवा आफ्नै मातृभूमि फर्किएर आउने गरेका पनि छन् । स्वदेशमै सम्भावनाका ढोकाहरु ढक्ढक्याउन आउने यिनै कैयौँ युवाका प्रयासहरुमा साथ र सहयोग दिने मेरो अठोट छ । सुशासनसहितको समुन्नत नेपाल निर्माणका लागि नवीन सोच, ऊर्जा र प्रतिबद्धतासहित नवयुवाहरूको सामूहिक प्रयासप्रति मेरो सदा साथ र सहयोग रहनेछ ।
उद्यमशीलताको प्रवर्धन मार्फत् सामाजिक रुपान्तरण र मुलुकको विकास आवश्यक रहेको तथा यसका लागि नवयुवाहरु अघि सरिरहेको वर्तमान परिवेशमा मलाई पनि समानुपातिक निर्वाचनको सूचीमा समावेश गरेकोमा पार्टीका नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दछु । तथापि, नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु ।
युवाहरुको सामूहिक नेतृत्वमा सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति म निरन्तर प्रतिबद्ध रहनेछु । साथै, आगामी दिनहरूमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी वहन गर्न आवश्यक परेमा सधैँ तत्पर रहेको प्रतिबद्धता पनि यसै जानकारी मार्फत् व्यक्त गर्दछु ।
अन्त्यमा, मलाई लाग्छ कुनै व्यावसायिक घरानाको सन्तान हुनु, उसले उद्यमशीलतामार्फत नयाँ सोच अघि सार्नु र देशको विकासमा केही योगदान गर्छु भनेर लागिपर्नु नराम्रो होइन । मेरा पिताजीको जस्तै स्वदेशमै उद्यमशीलता विकास गरेर, उद्यम व्यवसाय सञ्चालन गरेर समृद्ध नेपाल निर्माण गर्नुपर्छ भन्ने नै मेरो सोच हो । मैले मेरो पारिवारिक पृष्ठभूमिबाट प्राप्त हुने अवसर लिएर नभई आफैले हासिल गरेको शिक्षा र ज्ञानलाई व्यवहारमा रुपान्तरण गर्दै उद्यमशीलताको विकास गर्ने प्रयत्नमा छु । त्यसैले मैले कुनै पनि व्यवसायको परम्परागत निरन्तरता भन्दा पनि नविनता, नवउद्यम र चुनौतीपूर्ण काममा नै आफूलाई यसरी खार्ने प्रयत्न गरिरहेको छु, जुन नेपालका सबै युवाका लागि उदाहरणीय बन्न सकोस् ।