तोकिएको मितिमा निर्वाचन हुनेमा अझै विश्वस्त छैनौँ: विष्णु पौडेल
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १९ शनिबार
2.1k
Shares
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सरकारले घोषणा गरेको मितिमा निर्वाचन हुने कुरामा अझै ढुक्क हुने अवस्था नरहेको बताएका छन्। शनिबार बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनका लागि आवश्यक पर्ने आधारभूत वातावरण निर्माणमा सरकारको ध्यान नगएको आरोप लगाए।
उपाध्यक्ष पौडेलले एमाले सधैँ निर्वाचनको पक्षमा रहेको स्पष्ट पार्दै निर्वाचन केवल औपचारिकतामा मात्र सीमित नभई निष्पक्ष, स्वतन्त्र र भयरहित हुनुपर्नेमा जोड दिए। "हामी निर्वाचन चाहन्छौँ, तर सबै मतदाताले निर्भयताका साथ भाग लिन सक्ने र सबै राजनीतिक दलले स्वस्थ प्रतिस्पर्धा गर्न पाउने सुनिश्चितता हुनुपर्छ," उनले भने। सरकारले निर्वाचनसँग जोडिएका मुख्य कामहरूलाई अझै प्रभावकारी रूपमा अघि बढाउन नसकेको भन्दै उनले वर्तमान तयारीप्रति संशय व्यक्त गरे।
उनले निर्वाचनको तयारीलाई तीव्रता दिन र सुरक्षा लगायतका यावत कामहरू चुस्त बनाउन सरकारलाई सचेत समेत गराएका छन्। सरकारले निर्वाचनको घोषणा गरे पनि त्यसलाई सफल पार्न आवश्यक पर्ने राजनीतिक र प्रशासनिक सक्रियता नदेखाएको उनको जिकीर छ। एमालेले निर्वाचनको पक्षमा उभिए पनि सरकारको सुस्त गति र अस्पष्ट कार्यशैलीका कारण तोकिएकै मितिमा मतदान हुनेमा आशङ्का उब्जिएको पौडेलले बताए।