arrow

जेन-जी आन्दोलनका 'सुशासन योद्धा' निरज पन्त

घरबाट पसल हिँडेका ती पाइला जो कहिल्यै फर्किएनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १९ शनिबार
niraj-panta.jpg

काठमाडौँ । बैतडीको दशरथचन्द–६ का स्थायी बासिन्दा ५० वर्षीय निरज पन्तको दैनिकी हात्तीगौडास्थित आफ्नो पतञ्जली पसल र परिवारको हेरचाहमै बित्ने गर्थ्यो। राजनीतिमा खासै चासो नराख्ने र सहयोगी स्वभावका पन्त गत भदौ २४ गते सधैँझैँ खाना खाएर पसलका लागि निस्किएका थिए। तर, विडम्बना ! ती पाइला न पसल पुगे, न त घर नै फर्किए।

त्यो दुर्भाग्यपूर्ण दिन र महाराजगञ्जको झडप मुलुकमा भ्रष्टाचार नियन्त्रण, सुशासन र राजनीतिमा पुस्तान्तरणको माग गर्दै सुरु भएको 'जेनजी आन्दोलन' त्यतिबेला उत्कर्षमा थियो। भदौ २३ गते बानेश्वरमा भएको दमनको विरोधमा २४ गते काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन भइरहेका थिए। पसल जाने क्रममा महाराजगञ्ज पुगेका निरज त्यहाँको विशाल आन्दोलनकारीको भीड र प्रहरीबीचको झडपलाई नियाल्न पुगे। आफ्नो मोटरसाइकल 'टिपटप' मा पार्क गरेर चोकतिर बढ्दै गर्दा अचानक चलेको गोली उनको छाती र पेटमा लाग्यो। उनलाई तत्काल मेट्रो अस्पताल र पछि शिक्षण अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरे।

परिवारको छटपटी र २४ घण्टापछिको बज्रपात घरबाट हिँडेका मान्छे सम्पर्कविहीन भएपछि श्रीमती कमला अवस्थी र परिवारमा छटपटी सुरु भयो। मोबाइल फोन नलाग्ने र कतै पत्तो नपाएपछि भोलिपल्ट मात्रै महाराजगञ्जमा गोली चलेको र चार जनाको मृत्यु भएको खबर परिवारले पायो। "खाना खाएर पसल जान्छु भनी निस्कनुभएको थियो, महाराजगञ्ज जानुहोला भन्ने कल्पना नै थिएन," श्रीमती कमला भक्कानिँदै सम्झिन्छिन्, "उहाँको पर्स र मोबाइल अझै फेला परेको छैन।"

बुबा कीर्तिबल्लव पन्तले छोरालाई त्यसदिन आन्दोलनमा नजान सुझाएका थिए। तर, सहयोगी भावनाका निरजले प्रहरीमाथि भइरहेको कुटपिट रोक्न खोज्दा वा आन्दोलनलाई नजिकबाट नियाल्न खोज्दा ज्यान गुमाउनु परेको अनुमान परिवारको छ। साइप्रसबाट होटल म्यानेजमेन्टमा स्नातक गरेका निरज योग र आयुर्वेदका जानकार थिए। उनका छोरी कानुन अध्ययनरत छिन् भने छोरा अमेरिकामा आइटी पढ्दै छन्।

सरकारको सम्मान र आगामी निर्वाचन जेनजी आन्दोलनको बलमा गठित वर्तमान सरकारले निरज पन्तसहित ४५ जनालाई 'जेनजी सुशासन योद्धा' घोषणा गरेको छ। सहिद परिवारलाई राहत स्वरूप १५ लाख रुपैयाँ उपलब्ध गराइएको छ भने रोजगारी र मासिक भत्ताको योजना समेत अघि सारिएको छ। यही आन्दोलनको जगमा आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरिएको छ, जसले राजनीतिमा पुस्तान्तरण र सुशासनको सपनालाई संस्थागत गर्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ