एसइई दिने विद्यार्थीलाई आवासीय सुविधासहित अतिरिक्त कक्षा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १८ शुक्रबार
860
Shares
कालीकोट। कालीकोटको रास्कोट नगरपालिकाले एसइईमा शैक्षिक सुधार ल्याउनका लागि आवासीय सुविधासहितको अतिरिक्त कक्षा सञ्चालन गरेको छ ।
नगरपालिकाभित्रका चार माध्यमिक विद्यालयमा एसइई दिने विद्यार्थीका लागि आवासीय सुविधासहित अतिरिक्त कक्षा सञ्चालन गरिएको हो । यही शैक्षिक सत्रमा हुने एसइई नतिजा सुधारका लागि आवासीय सुविधासहित अतिरिक्त कक्षा सञ्चालन गरिएको हो ।
नगरपालिकाका चारवटै माध्यमिक विद्यालयले यस वर्षदेखि तीन सय नौ विद्यार्थीलाई एसइई तयारीका लागि आवासीय व्यवस्थापन गरेर विद्यालयमै राखेर दिउँसो नियमित पढाइका साथै बिहान बेलुकी थप तयारी कक्षा सञ्चालन गरिरहेको रास्कोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खेमराज शाहीले बताए ।
“विद्यार्थीबाट केही रकम लिएर आवासीय कक्षा सञ्चालन गरिएको छ”, उनले भने, “आर्थिक रुपमा विपन्न केही विद्यार्थीलाई विद्यालयले शुल्क मिनाहा पनि गरेका छन् ।”
बडीमालिका माध्यमिक विद्यालय रास्कोटले ५६ छात्र र ४८ छात्राबाट प्रतिव्यक्ति मासिक चार हजार शुल्क, कालाशिल्ला माध्यमिक विद्यालयले ४४ छात्र र ३७ छात्रालाई प्रतिविद्यार्थी मासिक चार हजार ९५० शुल्क, जनजागृति माध्यमिक विद्यालय फुकोटले ३७ छात्र र ४४ छात्रालाई मासिक चार हजार शुल्क तोकेको प्रमुख शाहीले जानकारी दिए ।
त्यस्तै, मोतीराम माध्यमिक विद्यालय सिप्खानाले २० छात्रा र २३ छात्रबाट नगद तीन हजार र १५ किलो चामल र दुई किलो दालका दरले शुल्क उठाएर आवासीय सुविधासहित अतिरिक्त कक्षा सञ्चालन गरिएको शाखा प्रमुख शाहीले बताए ।
“नगद तिर्न नसक्ने विद्यार्थीले उक्त मूल्य बराबरको चामल, दाल, तरकारी र दाउरा उपलब्ध गराउनसक्ने व्यवस्था गरेको छ” उनले भने, “आवासीय विद्यालयका लागि नगरपालिकाले प्रतिविद्यालय दुई लाख तथा द्रूत सिकाइअन्तर्गत प्लान इन्टरनेशनल र हुरेन्डेकको सहकार्यमा सञ्चालित सशक्त बालिका परियोजनाले ५० हजारका दरले शिक्षकको पारिश्रमिक र परीक्षण परीक्षाका लागि व्यर्होने छन् ।”
विद्यार्थीबाट उठाइने शुल्कबाट बिहानको खाजा, खाना, दिउँसोको खाजा र बेलुकीको खानासहित प्रत्येक शनिबार मासु खुवाउने मेनु बनाइएको कालाशिल्ला माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज चौलागाईंले बताए । गत वर्ष आफ्नो विद्यालयको एसइई नतिजा कमजोर भएकाले यस वर्ष आवासीय सुविधासहित पढाउन थालिएको नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए ।
“नगरको बडिमालिका माध्यमिक विद्यालयले मात्र विगतमा आवासीय रुपमा विद्यार्थी राखेर थप कक्षा सञ्चालन गर्दा नतिजामा सुधार आएकाले यस वर्षदेखि चारवटै माध्यमिक विद्याालयले आवासीय रुपमा विद्यार्थी राखेको हो”, उनले भने, “शैक्षिक सुधारमा नगरपालिकाले बिषे प्रकारले कामको थालनी गरेको छ । यसले के नतिजा ल्याउँछ हेर्न बाँकी नै छ ।”
जिल्लाका नौ स्थानीय तहमध्ये अन्य आठ स्थानीय तहका एसइई परीक्षा दिने विद्यार्थी, जिल्लाका अन्य स्थानीय तहका विद्यार्थी ट्युसनको खोजीमा जिल्ला सदरमुकाम मान्म, सुर्खेतलगायत ठाउँ जान बाध्य छन् । रासस