हात्ती गाउँमा पस्दा तीन घरमा क्षति, अन्नबाली नोक्सान
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १८ शुक्रबार
743
Shares
तस्बिर : फाइल
झापा । जङ्गली हात्तीको बथान गाउँ प्रवेश गर्दा जिल्लाको विभिन्न स्थानमा बिहीबार एकै दिन तीनवटा घरसहित लाखौँको अन्नबाली र भौतिक सम्पत्तिमा क्षति पुगेको छ ।
कमल गाउँपालिकाको वडा नं ३ बगाले टोलस्थित गणेश बस्नेतको टिनको छानो भएको घर, भद्रपुर नगरपालिका वडा नं ७ डाँफे चोकस्थित ऋषि भट्टराईको एकतले पक्की भवनको भान्सा घर र बिर्तामोड नगरपालिका–८ किसनभिट्टास्थित टङ्क बराइलीको टिनको छानो भएको कच्ची घर हात्तीले भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
कमल–३ का गणेश बस्नेतले रातको समयमा घरभित्र पसेका तीनवटा हात्तीले मूलघर आंशिक रूपमा र भान्साघर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको बताए । हात्तीले उनको घरमा चार मन धान र चार मन मकैको पीठो खाएको थियो भने लत्ताकपडा, भाडावर्तन, फर्निचर गरी रु एक लाख बराबरको धनमाल क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले जानकारी दिए ।
भद्रपुरका ऋषि भट्टराईको घर र भान्साघर भत्काउँदा रु २२ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छभने बिर्तामोडका टङ्क बराइलीको घर भत्किँदा र अन्नबाली खाइदिँदा रु ४५ हजारबराबरको क्षति भएको छ ।
प्रहरीका सूचना अधिकारी खड्काका अनुसार बराइलीको एकतले कच्ची घरको टाटी भत्काएर हात्ती भण्डार कोठामा पसेको थियो । भण्डारमा रहेको आठ क्विन्टल धान र एक क्विन्टल चामल हात्तीले खाइदिएको थियो । रासस