सभापतिले नै विधानको बाध्यकारी व्यवस्था लत्याउन खोजेकाले विशेष महाधिवेशन आह्वान : शिवाकोटी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १७ बिहिबार
985
Shares
काठमाडौँ । नेपाली कांग्रेसमा नियमित महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशन तयारी शुरू भएको छ । यही पुस ६ देखि २८ गतेसम्म १५औँ राष्ट्रिय महाधिवेशन गर्ने केन्द्रीय समितिको निर्णयअनुसार महाधिवेशनका कार्यक्रमहरू अघि नबढाइएपछि विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशनका तयारी थालेका हुन् ।
पार्टीका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी सभापति शेरबहादुर देउवाले यही पुस २८ गतेसम्म महाधिवेशन गरिसक्नुपर्ने विधानतः बाध्यकारी व्यवस्थासमेत लत्याउन खोजेका कारण विशेष महाधिवेशनको तयारी अघि बढाइएको बताए ।
बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गरेर केन्द्रीय कार्यालयमा बुझाएको स्मरण गर्दै सोहीअनुसार महाधिवेशन गरेर पार्टीको नीति, नेतृत्व र कार्यदिशा तय हुनुपर्ने बताए ।
उनले महाधिवेशन रोक्नकै लागि क्रियाशीलका सम्बन्धमा नियतवस विवाद सिर्जना खडा गरिएको उल्लेख गर्दै १५औँ महाधिवेशनमा समेत १४औँ महाधिवेशनका प्रतिनिधिहरूमार्फत नेतृत्व चयन गरिने बताए ।
१४औँ महाधिवेशनका प्रतिनिधिहरूले नै पार्टीको नयाँ नीति र कार्यदिशाहरूका सन्दर्भमा छलफल गरेर आउने निष्कर्ष नै पार्टीको अगामी कार्यदिशाको रुपमा अघि बढ्ने जिकिर गरे ।
शिवाकोटीले महाधिवेशनको अध्यक्षताको लागि पार्टी सभापतिलाई अनुरोध गरिनेसमेत बताए । उनले पार्टी महामन्त्री गगनकुमार थापा प्रतिवेदन तयारीमा लागिसकेको उल्लेख गर्दै पार्टीको विधानअनुसार सबैलाई मिलाएर विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइने स्पष्ट पारे ।
कांग्रेसको १४औँ महाधिवेशनमा रहेका चार हजार सात सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्ण खड्कालाई हस्ताक्षर बुझाएका थिए ।
सोहीअनुसार विशेष महाधिवेशनको प्रक्रिया अघि बढेको भन्दै उनले सबै प्रतिनिधिहरूलाई तयारी अवस्थामा बस्न आग्रह गरिएको पनि बताए ।
नेता शिवाकोटीले भने, ‘नेपाली कांग्रेसको बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले तीन महिनाभित्र विशेष महाधिवेशनको माग गरेर केन्द्रीय कार्यालयमा असोज २९ गते एउटा प्रस्ताव दर्ता गरेका थिए । त्यो प्रस्ताव दर्ता भएपछि नेपाली कांग्रेस केन्द्रीय समितिको तर्फबाट त्यसलाई समेत रेफरेन्समा लिएर पुसको २६ देखि २८ गतेसम्म १५औँ राष्ट्रिय महाधिवेशन गर्ने भनेर तोकियो । त्यसका लागि तहगत अधिवेशनहरूको पनि त्यसैगरी तोकिएको थियो । तर १६ गते पुसमा आइपुग्दा नेपाली कांग्रेसको तलको कुनै पनि वडाको अधिवेशन हुन सकेन । यो बेलामा नेपाली कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले जुन माग गरेका थिए र केन्द्रिय कार्यालयमा दर्ता गरेका थिए र पुस २८ सम्म महाधिवेशन विशेष महाधिवेशन गरिसक्नुपर्ने विधानतः बाध्यकारी व्यवस्था छ त्यो बाध्यकारी व्यवस्थालाई पनि यतिखेर आएर लत्याउन खोजेको, नियमित महाधिवेशन हुन नदिएको र विशेष महाधिवेशन लत्याउने यो अवस्था आएको छ । स्वयं पार्टी सभापतिले केही सञ्चारकर्मीसँग कुरा गरेको भनेर जुन हवाला दिएर समाचार आएको छ, त्यसले हामी विधानलाई मान्दैनौँ है भन्ने एक प्रष्ट सन्देश दिन खोजेको देखियो । त्यसकारण विशेष महाधिवेशन पक्षधरहरूले सक्रिय हुनुपर्ने अवस्था आयो । साथीहरूले विशेष कारण खुलाएर जुन महाधिवेशनको प्रस्ताव गर्नुभयो त्यो अनुसार महाधिवेशन जानुपर्छ र त्यहाबाट नै पार्टीको नीति नेतृत्व कार्यदिशा यी सबै तय गर्नुपर्छ भन्ने भएर अब विशेष महाधिवेशनको तयारीमा अब लागेको अवस्था छ । हल बुकिङलगायत कामहरू भइरहेको छ । २७ गते काठमाडौँको भृकुटीमण्डपमा हल बुक २७ र २८ का लागि त्यही एउटा विशेष महाधिवेशनको त्यहा गर्ने भनेर एउटा तय भएको छ । हामीले केन्द्रीय महामन्त्रीहरूलाई दुवै जनालाई पनि यसको जानकारी गराइएको छ । क्रियाशीलका सम्बन्धमा जुन हिसाबले तथ्यांक केन्द्रमा आउनु पर्ने र केन्द्रले फेरि त्यो निर्वाचन समितिलाई बुझाएर त्यो निर्वाचन समितिले तल पठाउनुपर्ने अवस्थामा त्यो केन्द्रमा कतिपय ठाउमा केन्द्रमा आइपुग्ने कुरा डाटा इन्ट्री भयो । तर डाटा इन्ट्रीबाहेक अरु पनि त मान्छेहरू थिए अरु पनि सदस्यहरू थिए उनीहरूको डाटा इन्ट्री भएन । कतिपय ठाउँमा अनावश्यक रुपमा रोकियो कतिपय ठाउँमा नियत बस रोकियो । त्यसकारणले यो १५औँ महाधिवेशनको प्रक्रियालाई जसरी पनि अवरुद्ध गर्ने नियत थियो । त्यसकारणले अब १५औँ महाधिवेशन हुन नसकिरहेको अवस्थामा तलबाट प्रोसेसबाट साथीहरू महाधिवेशन प्रतिनिधि छानिएर आउने अवस्था नभएको कारणले १५औँ महाधिवेशन हुन सकेन । तर विशेष महाधिवेशन हामीले बोलाउँदै गर्दा जुन १४ औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो उहाँहरूले नै यो पटक नयाँ नेतृत्वका लागि त्यो फेरि चार वर्षे, तीन वर्षे, पाँच वर्षे भन्ने होइन। एउटा सर्तका लागि खासगरी एक वर्षे कार्यकालका लागि केन्द्रीय सभापतिसहितका केन्द्रीय कार्यसमिति चयन गर्दैछ । त्यसका लागि पुरानै १४औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधिहरूले यो विशेष महाधिवेशनमा आएर आफ्नो मत प्रकट गर्छ । त्यहाँबाट नयाँ नेतृत्व छान्छ र नयाँ नेतृत्व सँगसँगै नयाँ नीति र कार्य दिशाहरूका सन्दर्भमा पनि उहाँहरूले घनिभूत छलफल गर्नुहुन्छ । त्यो छलफलबाट जुन निष्कर्ष आउछ त्यो निष्कर्ष नै पार्टीको आगामी कार्यदिशाको रुपमा अघि बढ्ने अवस्था हुन्छ।’
उनले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आन्तरिक लोकतन्त्रका लागि आवश्यक गृहकार्य नगर्दा समस्या हुने भन्दै जनताको विश्वास कायम गर्न विशेष महाधिवेशनमा जानुपर्ने अवस्था आएको बताए ।