arrow

जर्मनीमा सुरक्षाकर्मी नै असुरक्षित: एक वर्षमा ४६ हजार प्रहरीमाथि आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १६ बुधबार
germany-flag-new.jpg

काठमाडौँ । जर्मनीमा सुरक्षाकर्मीहरूको सुरक्षा व्यवस्था निकै चुनौतीपूर्ण बन्दै गएको पाइएको छ। सन् २०२४ मा प्रहरी अधिकारीमाथि हुने हिंसात्मक आक्रमणको सङ्ख्याले विगतका सबै रेकर्ड तोडेको छ। सङ्घीय आपराधिक प्रहरी कार्यालयको पछिल्लो प्रतिवेदनले गत वर्ष यस्ता घटनामा शून्य दशमलव तीन प्रतिशतले वृद्धि भई कुल ४६ हजार ३६७ पुगेको देखाएको छ।

आधिकारिक तथ्याङ्कले प्रहरीमाथि हुने हिंसाका विविध स्वरूपहरू उजागर गरेको छ जसमा अधिकांश घटनामा कानुन कार्यान्वयनको क्रममा अवरोध पुर्‍याउने र प्रत्यक्ष शारीरिक आक्रमण गर्ने कार्य समावेश छन्। यसका साथै सुरक्षाकर्मीलाई धम्की दिने, मानसिक दबाब दिने र जानाजानी चोट पुर्‍याउने कार्यलाई पनि हिंसाको श्रेणीमा राखेर वर्गीकरण गरिएको छ।

देशभर एक लाखभन्दा बढी प्रहरी अधिकारीहरू कुनै न कुनै रूपमा हिंसात्मक घटनाबाट प्रभावित भएका छन् जुन सन् २०१५ को तुलनामा निकै उल्लेखनीय वृद्धि हो। पहिचान गरिएका शङ्कास्पद व्यक्तिहरूमध्ये अधिकांश पुरुष रहेका छन् भने प्रतिवेदनले करिब एक तिहाइ आक्रमणकारीसँग जर्मन नागरिकता नभएको अर्थात् उनीहरू विदेशी मूलका रहेको तथ्य पनि बाहिर ल्याएको छ। यसले जर्मनीको आन्तरिक सुरक्षा र सामाजिक सद्भावमा नयाँ बहसको आवश्यकतालाई इङ्गित गरेको छ।

गृहमन्त्री अलेक्जेन्डर डोब्रिन्ड्टले प्रहरी र आपतकालीन सेवाकर्मीमाथि हुने यस्ता आक्रमणलाई दैनिक चुनौतीको संज्ञा दिँदै यसलाई रोक्न सरकार कठोर बन्ने बताएका छन्। उनले सुरक्षाकर्मीहरूको सुरक्षा मजबुत पार्न र दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन सजायमा कडाइ गर्ने, कानुनी प्रक्रियालाई छिटो बनाउने र नयाँ कानुनी सुधारका योजनाहरू अघि सार्ने तयारी भइरहेको जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ