प्रचण्डको आक्रोश: सामाजिक सञ्जालको होहल्लाले देश कब्जा भएको भ्रम फैलाइयो
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
971
Shares
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले सामाजिक सञ्जाल र सहर बजारमा हुने होहल्लाका भरमा इतिहास र निष्ठाविहीन तत्वहरूले देश कब्जा गरिसकेको भ्रम फैलाएको बताएका छन्। रुकुमपूर्वदेखि काठमाडौँसम्म पैदल यात्रा गरेका केशव रावलको सम्मान तथा यात्रा समापन कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
"त्याग र तपस्याको अवमूल्यन गरियो" दशकौँको संघर्ष, त्याग र बलिदानबाट स्थापित राजनीतिक दलहरू अब आवश्यक छैनन् भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएकोमा प्रचण्डले आपत्ति जनाए। "सामाजिक सञ्जाल र सहरको होहल्ला हेर्दा त विचार र इतिहास नभएकाहरूले नै नेपाल कब्जा गरिसके जस्तो देखिन्छ," उनले भने, "जसले दशकौँ लडाइँ गरेर परिवर्तन ल्याए, उनीहरूलाई बदमास र काम नलाग्ने जस्तो गरी प्रस्तुत गरेर मोबाइल र बजारको हातहातमा भ्रम बाँडिएको छ।"
मैदानको यथार्थ फरक छ प्रचण्डले पैदल यात्री केशव रावलको अनुभवलाई उद्धृत गर्दै सामाजिक सञ्जालको होहल्ला र भुइँतहको यथार्थ निकै फरक रहेको दाबी गरे। "तपाईंले पैदल यात्रा गरेर सबै ठाउँका जनता र पार्टी समर्थकहरूको भावना बुझ्दा त त्यस्तो देखिँदैन रहेछ," रावललाई सम्बोधन गर्दै उनले भने, "अहिले पनि जनतामा कम्युनिष्ट पार्टी र हाम्रो एकता प्रक्रियाप्रति सकारात्मक भाव र ठूलो भरोसा छ।"
रावलको पैदल यात्राले पार्टीका नेता तथा कार्यकर्ताहरूमा एकताको सन्देश प्रवाह गरेको र बाहिर फैलिएका भ्रमहरूलाई चिर्न मद्दत पुगेको प्रचण्डको भनाइ थियो।