arrow

शान्तिप्रेमी मुलुकको रूपमा नेपाललाई विश्वमा चिनाउनुपर्छः महानिरीक्षक कार्की [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
dan-ahadur-karki-igp-15-09.jpg

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले असन्तुष्टि जनाउने नाममा ढुंगामुढा, आगजनी र तोडफोड गर्ने अभ्यासलाई सुधार गर्नुपर्ने बताएका छन् ।

जेन-जी आन्दोलनको क्रममा आगजानी भएको कोटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभाग पुनःनिर्मित भवन हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले समाजमा सहयोगी मनको विकास भएमा अपराध नियन्त्रण, विकास र शान्ति सम्भव हुने बताए।

महानिरीक्षक कार्कीले नागरिकको सहयोगका कारण प्रहरी भवन निर्माण गर्न सफल भएको बताए। 

उनले सहयोगी नागरिककै कारण सवारी साधन प्राप्त भएको तथा अपराधविरुद्धका सूचना प्राप्त भइरहेको बताए।

उनले कोही पनि मानिस अयोग्य नहुने भन्दै असल संगत र सहयोग पाए सबै मानिस सकारात्मक बन्न सक्ने बताए।

असल संगतका लागि समाज पनि तयार हुँदै गएको उनको भनाइ छ ।

उनले नेपाललाई हिंसा, आगजनी र आफ्नै सम्पदा नष्ट गर्ने मुलुकका रूपमा नभई शान्तिप्रेमी, विकासप्रेमी, कानून पालना गर्ने र समानतामा विश्वास गर्ने नागरिक भएको देशका रूपमा विश्वमा चिनाउनुपर्ने बताए ।

भावी पुस्तालाई कस्तो समाज हस्तान्तरण गर्ने भन्ने आजको गम्भीर प्रश्न रहेको उनको भनाइ छ ।

विभाजन, झगडा र हिंसाले भरिएको समाजले सन्तानको सुरक्षा र भविष्य सुनिश्चित गर्न नसक्ने उनले बताए।

सुरक्षित भविष्यका लागि अहिलेको पुस्ताले थप जिम्मेवारी लिनुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘आफ्ना असन्तुिष्टहरूलाई ढुंगामुढाले प्रस्तुति गर्ने हाम्रो अभ्यास सुधार गर्नु जरुरी छ । अहिले अत्यन्त सहयाग गर्न मन भएका सहयोगी मनका कारणले हामीले भवन निर्माण गरेको, सवारीसाधान प्राप्त गरेका । काम गर्न सहयोग प्राप्त गरेका, अपराधका विरुद्ध सूचना प्राप्त गरेका छौँ । यो मनको विकास होस् र यस्तै होस् । कोही पनि मान्छे अयोग्य छैन, सबै मान्छे राम्रा छन् । तर जोड्ने चीज राम्रो मान्छेको संगत पायो भने सबै राम्रा हुने छन् । यस्तै सहयोगी मन भएका सम्पूर्ण नागरिकको सामिप्यतामा रहेर अरु मान्छे पनि राम्रा हुनेछन् । सबै राम्रो हुने वातावरण बन्नेछ । हामीलाई अबको जरुरत सबै मान्छे योग्य छन् । ती योग्य मान्छेहरूलाई असल संगतको साथ र सहयोगको जरुरत छ । त्यो साथ र सहयोग दिनको लागि समाज पनि तयार बन्दै जानेछ, बनेको छ । नेपाल प्रहरीका सकल दर्जाले पनि त्यसैअनुसारको भूमिका निर्वाह गर्दै हामी यो समृद्ध मुलुकको नागरिकको रुपमा विश्वभरमा चिनिने, अहिले ढुंगा हान्ने मुलुकको, आफ्नै घर जलाउने मुलुकको, आफ्नै ऐतिहासिक धरोहर जलाउने मुलुकको, आफ्नै ईतिहास मेटाउने मुलुकको नागरिकको रुपमा होइन, यो शान्तिप्रमी, विकासप्रेमी, उन्नती प्रेमी, कानून कार्यान्वयन गर्ने, कानूनी शासन चाहने, समानता चाहने र मुलुकको हितमा काम गर्ने नागरिकका रुपमा हामी सबैतिर चित्रित हुन सकौँ । हामीले कस्तो समाज बनाउने, हामीले सन्ततीलाई कस्तो समाज हस्तान्तरण गर्ने ? लडाईँ गर्ने, झगडा गर्ने, छिमेकीलाई देखिनसहने, विभाजित भएको, गाली गर्ने, कुटिहाल्ने, ध्वस्स गहिरहाल्ने, आगो लगाइहाल्ने, ठोकिहाल्ने यस्तो बन्यौँ भने हाम्रा सन्ततिलाई सुरक्षित पनि बनाउँदैनौँ । आफ्ना सन्तानहरुको सुरक्षाको लागी, सुन्दर भविष्य हस्तान्तरणको लागी पनि यही समयमा हाम्रै पुस्ताले अलि धेरै काम गर्नुपर्छ ।’ 

उनले जेन-जी आन्दोलनका क्रममा लुटिएका अधिकांश हतियार नागरिकको सहयोगमा फिर्ता भइसकेको बताए।

साथै आन्दोलनका क्रममा बद्मासी गर्नेहरू पनि क्रमशः कानूनी दायरामा आइसकेको उनले जानकारी दिए।

उनले ड्युटीका क्रममा ज्यान गुमाएका स्वर्गीय सहायक हवलदार अमृत गुरुङकी धर्मपत्नी कान्ति गुरुङलाई नेपाल प्रहरीमा करार सेवामा रोजगारी दिने पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ