मुलुकमा निर्वाचन हुने अवस्था बने-नबनेको विषय गम्भीर प्रश्न : डा शेखर कोइराला [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
796
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन गर्न नसकेको टिप्पणी गरेका छन् ।
मंगलबार मोरङ समाज काठमाडौँको २६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले मुलुकमा निर्वाचन हुने अवस्था बने-नबनेको विषय गम्भीर प्रश्नको रूपमा उभिएको बताए ।
सबै राजनीतिक दलहरूले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति-सुरक्षाको अवस्था कमजोर रहेकाले निस्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन ? अहम् प्रश्न रहेको उनको भनाइ छ ।
उनले नेपाली कांग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै उहाँले सरकारले त्यसका लागि वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले निर्वाचनमा शान्ति-सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी प्रहरी प्रशासनको भएको उल्लेख गर्दै हाल प्रहरीको मनोबल अत्यन्त खस्किएको बताए ।
सेनाले निर्वाचन गराउँदैन भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको पनि उनको भनाइ छ । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनको स्मरण गराउँदै गम्भीर अपराधका कैदी फरार र हजारौँ हातहतियार समेत समाजमा रहेको भन्दै यही अवस्थामा भयरहित वातावरणमा निर्वाचन हुनेमा शंका व्यक्त गरे ।
उनले भने, ‘सबै राजनीतिक दलले समानुपातिकको सूची पठायो पनि । तर वास्तवमा देशमा निर्वाचन हुने अवस्था छ कि छैन ? भन्ने प्रश्न चाहीँ अहं प्रश्न छ । हामी भाग्दैनौँ निर्वाचनबाट । एउटा लोकतान्त्रिक पार्टी हार्छ, हार्न सक्छ तर हामी निर्वाचनबाट भाग्दैनौँ । तर निर्वाचनको लागि सरकारले केही काम त गर्नुपर्यो । शान्ति सुरक्षा त दिनसक्नुपर्यो । समाजमा शान्ति सुरक्षा छ कि छैन भन्ने कुरा प्रहरी प्रशासनमा निर्भर गर्छ । प्रहरी प्रशासनको आजको दिनमा अत्यन्त मनोबल गिरेको अवस्थामा छ । नेपाली सेनाले निर्वाचन गराउने हैन भन्ने कुरा हामीले बुझ्न जरुरी छ । नेपाली सेना त तेस्रो घेरामा मात्रै बस्छ । बुथमा बस्ने भनेको प्रहरी नै हो । प्रहरीलाई कति समस्या पर्छ भनेर हामीले २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा देखेका छौँ । भय र त्रासमा भोट हालेको हामी सम्झिन्छौँ त्यो बेलामा । अर्को कुरा पाँच हजार कैदीहरू जसमा सार्फ सुटरहरू पनि छन्, ती भागेका छन् । राज्यले खोज्नुपर्याे । लुटिएका हतियारहरू पनि छिटोभन्दा छिटो फिर्ता ल्याउनुपर्छ भन्ने नेपाली काँग्रेसको मात्र होइन सबै दलहरूको माग हो ।’
नेता कोइरालाले २३ भदौमा भएको जेन-जी आन्दोलनमाथि प्रहरी दमनको जति निन्दा गरेपनि कम हुने बताए। यद्यपि २४ भदौमा भएको विध्वंशलाई सामान्य रुपमा हेर्न नहुने उनको भनाइ छ ।
उनले मुख्य प्रशासनिक भवन सिंहदरबारदेखि प्रादेशिक तहका संरचना र नेताका निवासहरू समेत तहसनहस पारिएको उल्लेख गर्दै उनले जेनजीले मात्रै ६ घण्टामा मुलुकलाई खरानी बनाउन नसक्ने टिप्पणी गरे ।
यो सब कांग्रेस-एमालेको सरकार हटाउनका लागि मात्र हो त ? उनको प्रश्न छ । उनले संसद पुनःस्थापना गरेर समेत अहिले समस्याहरूको निकास निस्कन नसक्ने जिकिर गरे ।