छ दलको गठबन्धन आधा मन्त्रालय खाली: मधेस सरकार पूर्णताको पर्खाइमा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
922
Shares
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सरकार गठन भएको झन्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन। छ दलको समर्थनमा गत मङ्सिर १९ गते मुख्यमन्त्री नियुक्त भएका कृष्णा यादवले पुस ४ गते प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरिसकेका छन्। विश्वासको मत पाएको १० दिनभन्दा बढी भइसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन नसक्दा सरकारको कार्यक्षमता र सुशासनमा प्रश्न उठ्न थालेको छ।
प्रदेश सरकारअन्तर्गत रहेका ११ वटा मन्त्रालयमध्ये हालसम्म पाँच जना मात्र मन्त्री नियुक्त भएका छन्। बाँकी छ मन्त्रालय मन्त्रीविहीन रहँदा प्रशासनिक निर्णय, नीति कार्यान्वयन तथा दैनिक सेवा प्रवाहमा प्रत्यक्ष असर पर्न थालेको छ। जसपा नेपाल, जनमत, नेपाली कांग्रेस, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादी जस्ता ठूला दलहरूको समर्थन रहे पनि भागबन्डा र आन्तरिक शक्ति सन्तुलन नमिल्दा सरकारले गति लिन नसकेको विश्लेषण गरिएको छ।
यसैबीच, नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले दलहरूभित्र आन्तरिक छलफल र मन्त्री छनोटको प्रक्रियाका कारण केही समय लागेको बताउँदै अबको केही दिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउने दाबी गरेका छन्। यता प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का संसदीय दलका नेता सरोजकुमार यादवले भने मन्त्रिमण्डल अपूर्ण रहनु सरकारको कमजोरी भएको र यसले जनतालाई सेवा प्रवाहमा ठूलो समस्या पुर्याएको भन्दै तत्काल विस्तार गर्न माग गरेका छन्।
मुख्यमन्त्री यादव हाल आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा व्यस्त रहेकाले पनि सरकार विस्तारमा ढिलाइ भएको बताइएको छ। तर, लामो समयसम्म मन्त्रालयहरू रिक्त रहँदा प्रदेशको विकास निर्माण र प्रशासनिक कामकाज ठप्प हुने भन्दै नागरिक समाज र प्रशासनिक क्षेत्रबाट चिन्ता व्यक्त गरिएको छ।