दाउन्नेको एकतर्फी बाटो सञ्चालनले यात्रुलाई घण्टौँको सास्ती
आफैँले बुझेर वैकल्पिक मार्ग प्रयोग गर्दा जाती
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
1.2k
Shares
तस्बिर सौजन्य डा द्धारिकानाथ ढुंगेल ।
काठमाडौँ । बुटवल नारायणघाट सडकखण्ड अन्तर्गत दाउन्ने र बर्दघाटमा सडक अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेका छन् ।
दाउन्नेमा हुस्सु र कुहिरोका कारण सडक भिजेर चिप्लो भएकाले सडक एकतर्फी सञ्चालन भइरहेको छ भने बर्दघाटमा ट्रक बिग्रिएकाले आलोपालो सवारी चलाउन परिरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दाउन्ने ट्राफिक कार्यालयका प्रहरी जवान शैलेश पालका अनुसार आइतबारदेखि नै जाम रहेको छ । उनले सोमबार दिउसो आलोपालो सवारी चलिरहेको जनाएका छन् ।
तर लामो समयदेखि सवारी रोकिएका कारण लाइन भने ढिलाढिला सरेको बताएका छन् ।
आलोपालोमा चले पनि पश्चिमतर्फ विश्वकर्मा मन्दिरसम्म जाम रहेको उनले बताए ।
दुम्कीबास र बर्दघाट दुवैतिर उत्तिकै लामो लाइन रहेको छ । दाउन्ने खण्डमा सडक विस्तारको कामसमेत भइरहेकाले त्यसको असर पनि परेको छ ।
अहिलेसम्म ट्राफिकले कुनै पनि विकल्पको प्रयोग गर्न नभनेको गुनासो आएको छ । एक सवारी चालकले भने, ‘हामीलाई अग्रिम जानकारी भएको भए विकल्प प्रयोग गर्ने थियौँ । त्यसकोसमेत प्रयोग गर्न पाइएन । गाडी घुमाउने ठाउँसमेत छैन ।’
बुटवल हुँदै यात्रा गरिरहेका डा द्धारिकानाथ ढुङ्गेलले हजारौँ यात्रु अलपत्र परेको बताए । उनले आफूलाई दाउन्ने मुनि ठूलो जाम हुनुअघि नै फर्केर बुटवल आई पाल्पाबाट वैकल्पिक मार्गको प्रयोग गरी जान लागेको बताए ।
उनले आफूलाई बुटवलमा कुनै जानकारी भएको भए सिधै पाल्पा हुँदै काठमाडौँका लागि आउने तर त्यसो हुन नसकेको बताए ।
यता, पश्चिम ट्राफिक प्रहरी कार्यालय बुटवलका सई सनोकुमार बरैले दाउन्नेमा सडक जाम भएको तर त्यसको विकल्पबारे कुनै सूचना प्रवाह नगरिएको बताए ।
उनले हुस्सु र कुहिरोका कारण सडक चिप्लिएकाले समस्या भएको बताउँदै वैकल्पिक मार्गबारे कुनै कुराकानी हुन नसकेको जानकारी दिए ।
यसरी हेर्दा आफैँले बुझेर वैकल्पिक मार्गको प्रयोग गरेमा जाती हुने देखिएको छ । सडक ठप्प नै नभएकाले ट्राफिक प्रहरीले कुनै विकल्पबारे नसोचेको बुझ्न सकिन्छ । तर विकल्प छन् भने अग्रिम जानकारी विभिन्न चेकपोष्टमा गराइदिने हो भने समयानुकुल मार्ग प्रयोग गर्न सकिनेतर्फ भने ध्यान दिनु जरुरी देखिएको छ ।
यसै त वर्षौंदेखि बुटवल नारायणगढ सडक खण्ड बनिरहँदा निरन्तर यात्रुले सास्ती खेप्नु परिरहेको छ । त्यसमाथि सही सूचनाको अभावमा सवारी घण्टौँ जाममा रोकिनु दुर्भाग्य नै हो ।