प्राकृतिक विपद्मा दलित समुदाय सबैभन्दा बढी जोखिममा : उपराष्ट्रपति यादव
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
578
Shares
फाइल तस्बिर
काठमाडौँ । उपराष्ट्रपति रामसहाय यादवले मधेसमा हाल शीतलहरका कारण दलित समुदाय पीडामा रहेको बताएका छन् ।
राष्ट्रिय दलित आयोगले सोमबार आयोजना गरेको कार्यक्रममा उनले प्राकृतिक विपद्मा दलित समुदाय सबैभन्दा बढी जोखिममा रहने गरेको बताए ।
यसमा आयोग अभिभावकको भूमिकामा देखिनुपर्नेमा जोड दिँदै उनले आयोगले आफैँले सहयोग गर्न सक्ने अवस्थामा सहयोग गर्ने र गर्न नसक्ने अवस्थामा राज्यको ध्यानाकर्षण गराउनुपर्ने बताए ।
सरकारको ध्यान पुग्न नसकेको स्थानमा आयोगले तत्कालै सरकारको ध्यानाकर्षण गराउनुपर्ने भन्दै उपराष्ट्रपति यादवले तराई मधेसका दलितहरू अझै शिक्षा, स्वास्थ्य, राजनीतिक पहुँचको रेखाभन्दा बाहिर रहेको उल्लेख गरे।
उनीहरूलाई मूलधारमा ल्याउन आयोगले सक्रियता देखाउन जरुरी रहेको उनले बताए ।
स्वास्थ्य बीमालगायतका कार्यक्रममा आर्थिक अभाव र जनचेतनाको कमीले धेरै जसो दलित समुदायले लाभ लिन नसकेको स्पष्ट पार्दै यादवले आयोगले यसको लागि जागरुकता अभियानलाई संस्थागत रुपमा अघि बढाउनुपर्नेमा जोड दिए।
उनले आयोगलाई दलितलक्षित शीपमूलक तथा रोजगारीमूलक कार्यक्रमहरू विपन्न क्षेत्र, बस्तीमा संचालन गर्न सुझाव दिए ।
उनले समाजमा अझैपनि विभिन्न कुऋति, विसंगति र भेदभावका अवशेषहरू रहेकोले त्यसलाई हटाउने चुनौतीहरू रहेको बताए।
दलित-दलित बीचमा पनि विभिन्न विभेद र छुवाछुतको अवस्था रहेको उनको भनाइ छ । यसलाई हटाउन आयोगले अग्रसरता देखाउनुपर्नेमा उनले जोड दिए।
उनले आयोगले तयार पारेको रणनीतिक योजना २०८२/८७ तथा आयोगको उजुरी व्यवस्थापन प्रणालीलाई कार्यन्वयन गर्न पनि आग्रह गरे ।