ट्रम्प–जेलेन्स्की भेटअघि पुटिनको चेतावनी- शान्ति नभए सैन्य माध्यमबाटै सबै लक्ष्य पूरा गर्छौँ
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
1.9k
Shares
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले शान्तिपूर्ण समाधानको बाटो नरोजे रुसले सैन्य बलकै प्रयोग गरेर आफ्ना सबै लक्ष्यहरू हासिल गर्ने चेतावनी दिएका छन्। शनिबार रुसी सशस्त्र बलको कमान्ड पोस्ट भ्रमणका क्रममा पुटिनले किएभ वार्ताका लागि तयार नभए रुसले आफ्नो 'विशेष सैन्य अपरेसन' लाई निष्कर्षमा पुर्याएरै छोड्ने बताएका हुन्।
रुसी सेनाले डोनबास र जापोरिजिया क्षेत्रका रणनीतिक स्थानहरूमा प्रगति गरिरहेको दाबी गर्दै पुटिनले सीमा क्षेत्रमा 'बफर जोन' निर्माण गर्ने कार्य योजनाअनुसार नै अघि बढिरहेको जानकारी दिए। रुसी अधिकारीहरूका अनुसार किएभका वर्तमान शासकहरू द्वन्द्व अन्त्य गर्न इच्छुक नदेखिएकाले रुसले सैन्य दबाबलाई थप सशक्त बनाउने संकेत दिएको छ।
भूमि र आणविक केन्द्रमा सम्झौता नहुने अर्कोतर्फ, आइतबार फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन लागेको निर्णायक भेटअघि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफ्नो अडान स्पष्ट पारेका छन्। जेलेन्स्कीले रुसी कब्जामा रहेका युक्रेनी भूभाग र जापोरिजिया आणविक ऊर्जा केन्द्र युक्रेनका लागि 'रेड लाइन' भएको बताएका छन्। यी संवेदनशील विषयमा युक्रेनी जनताको प्रत्यक्ष परामर्श वा जनमतसङ्ग्रह बिना कुनै पनि सम्झौता सम्भव नहुने उनको जिकिर छ।
सामाजिक सञ्जालमार्फत सन्देश दिँदै जेलेन्स्कीले युक्रेनका लागि 'बलियो र विश्वसनीय सुरक्षा ग्यारेन्टी' नै पहिलो प्राथमिकता भएको उल्लेख गरेका छन्। ट्रम्पसँगको भेटमा क्षेत्रीय अखण्डता, राष्ट्रिय सार्वभौमिकता र युद्धपछिको पुनर्निर्माणका मुद्दाहरूलाई प्रमुखताका साथ उठाउने उनले बताए। विश्व कूटनीतिमा यो भेटलाई रुस–युक्रेन युद्धको भविष्य तय गर्ने महत्त्वपूर्ण क्षणका रूपमा हेरिएको छ।