जेन-जी आन्दोलनलाई रास्वपा र बालेनले सत्ता स्वार्थका लागि हाइज्याक गर्न खोजेः योगेश भट्टराई [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
865
Shares
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साह बालेनबीच भएको एकतालाई अन्यथा लिन नहुने बताएका छन् ।
उनले एजेण्डा मिल्दा एकीकरण हुने र नमिल्दा छुट्टिने कुरालाई समान्य रुपमा लिनुपर्ने बताए ।
लोकतान्त्रिक प्रक्रियामा राजनीतिक दलहरू मिल्ने र विभाजन हुने कुरालाई अनौठो मान्न नहुने उनको भनाइ छ ।
उनले आगामी निर्वाचनलाई लक्षित गरेर रास्वपा र प्रमुख साहले पनि एकताको घोषणा गरेको उल्लेख गरे ।
उनले नेपालको लोकतान्त्रिक प्रक्रियालाई पारदर्शी र स्वच्छ बनाउन, खण्डित भएको संवैधानिक प्रक्रियालाई सही बाटोमा ल्याउन र स्थायी शान्तिमार्फत दिगो विकासको योजनालाई अघि बढाउन राजनीतिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिए ।
त्यसका लागि नेकपा एमाले तयार रहेको उनको भनाइ छ । उनले पवित्र उद्देश्यले भदौमा भएको जेन-जी आन्दोलनलाई रास्वपा र बालेनले सत्ता स्वार्थका लागि हाइज्याक गर्न खोजेको भन्दै जेन-जी अगुवाहरूलाई सजक रहन पनि आग्रह गरे ।
उनले भने, ‘लोकतान्त्रिक परिपाटीमा कुनै पनि व्यक्ति वा समूह एकआपसमा मिल्नु र विषय नमिल्दा अलग अलग ढंगले विभाजित हुने कुरालाई अनौठो मान्न सकिँदैन । त्यही क्रममा आगामी निर्वाचनलाई ध्यान दिँदै केही राजनीतिक व्यक्ति र शक्तिहरू एकआपसमा मिलेको घोषणा गर्नुभएको छ । त्यसलाई मैले अन्यथा रुपमा लिन चाहन्न । मुख्य कुरा के हो भने नेपालको लोकतान्त्रिक प्रक्रियालाई कसरी पारदर्शी र स्वच्छ बनाउने, हाम्रो खण्डित भएको संवैधानिक प्रक्रियालाई कसरी पुनःलिकमा ल्याउने र नेपालमा स्थायी शान्तिमार्फत दिगो विकासको योजनालाई कसरी अगाडी बढाउने ? यो आजको दिनमा सबैभन्दा महत्वपूर्ण कुरा हो । यसका निम्ति राजनीतिक प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने हो । नेकपा एमाले कुनै पनि चुनौतीसँग सामाना गर्न तयार छ । जेन-जी आन्दोलन जुन भदौ २३ गते भएको थियो । त्यो हाम्रो नवयुवा पुस्ताहरूको एउटा आन्दोलन थियो, त्यो जागरण थियो । त्यो जागरण सुशासनको निम्ति थियो, भ्रष्टाचार अन्त्य गर्नको लागि थियो, सामाजिक सञ्जाललाई खोल्नपर्ने भन्ने कुराहरूसँग थियो । यी पवित्र मागहरू हुन् । पवित्र मागहरूसहित पवित्र आत्माहरू त्यो आन्दोनलमा थिए । ती पवित्र माग र पवित्र आत्मालाई कुनै पनि गलत राजनीतिक उदेश्य र व्यक्तिहरूको स्वार्थपूर्ति गर्नको निम्ति प्रयोग नहोस् भन्ने कुरामा हामी सबै सचेत हुनुपर्छ । जेन-जी आन्दोलनका अगुवाहरू पनि यसमा सचेत होउन् । आफ्नो आन्दोलन हाइज्याक गरेर राजनीतिक स्वार्थसत्ताको रोटी सेक्न र व्यक्तिगत स्वार्थको रोटी सेक्न आफ्ना आन्दोलन र एजेण्डा हाईज्याक भए की भन्नेकुरामा जेन-जी अगुवाहरूले पनि ध्यान दिउन् ।’
उपमहासचिव भट्टराईले एमाले आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी तयारीमा लागेको पनि बताए ।
उनले हाल पार्टीमाथि चौतर्फी आक्रमण भएको उल्लेख गर्दै आन्तरिक पार्टी एकतलाई बलियो बनाउने गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरे ।
उनले चुनावको तयारीको लागि पार्टीभित्रका आन्तरिक मतभेदलाई थाँती राखेर सबै एकजुट हुन आवश्यक रहेको बताए ।