महाधिवेशनपछि पहिलो पटक बस्दै सचिवालय बैठक, एमालेले टुङ्ग्याउँदै ११० समानुपातिक उम्मेदवार
आजै निर्वाचन आयोगमा बन्द सूची बुझाउने तयारी
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
2k
Shares
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो सचिवालय बैठक आज आइतबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहान ११ बजे सुरु हुने यस बैठकले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूचीलाई अन्तिम रूप दिने मुख्य एजेन्डा रहेको छ।
निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार आज र भोलिभित्रै राजनीतिक दलहरूले ११० जना उम्मेदवारहरूको बन्द सूची बुझाइसक्नुपर्ने भएकाले एमालेले यसलाई प्राथमिकतामा राखेको हो।
यस बैठकले समानुपातिक सूचीका अतिरिक्त महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीका नेताहरूको कार्य विभाजन समेत टुङ्ग्याउनेछ। महाधिवेशनपछि नेताहरूलाई विभिन्न विभाग, भूगोल र विशेष जिम्मेवारी तोक्ने कार्य बाँकी रहेकाले आजको निर्णयलाई निकै चासोका साथ हेरिएको छ।
पार्टीको आन्तरिक व्यवस्थापन, संगठन सुदृढीकरण र चुनावी रणनीतिका विषयमा पनि बैठकमा गहन छलफल हुनेछ। ११औँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको यो पहिलो औपचारिक सचिवालय बैठक भएकाले यसले पार्टीको आगामी कार्यदिशा र सक्रियताका सम्बन्धमा ठोस निर्णयहरू लिने अपेक्षा गरिएको छ।