बालेनले बोके रविको विगत, रास्वपासँग भयो सहमति, किन समेटिएनन् कुलमान ?
पार्टीको सभापति रवि रहने र प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने सहमति
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
2.3k
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साह बालेनबीच विभिन्न विषयमा सात बुँदे सहमति भएको छ ।
बालेनले सामाजिक सञ्जालमार्फत सहमतिमा हस्ताक्षर गर्दै गरेको तस्बिर सार्वजनिक गर्दै शुभप्रभात लेखेका छन् । उनीहरूबीच आज बिहान सहमति भएको हो । सहमतिमा रास्वपा सभापति रवि लामिछाने र बालेनले हस्ताक्षर गरेका छन् ।
सार्वजनिक विवरणअनुसार नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा शहीद परिवारका मागको यथोचित सम्बोधन गर्ने सहमतिमा उल्लेख छ ।
यस्तै पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने सहमति भएको छ ।
त्यसैगरी, सहमतिपछि स्थापित हुने राजनीतिक दल, चुनाव चिह्न र पार्टी कार्यालय नाम राष्ट्रिय स्वतन्त्र पार्टीको नै हुनेछ । पार्टीको सङ्गठनात्मक संरचनामा युवालाई सहभागी गराउनेलगायतका विषय समावेश गरिएका छन् ।
अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय
रवि, बालेन र ऊर्जा मन्त्री कुलमान घिसिङबीच एकता हुने गरी छलफल भए पनि अन्ततः कुलमान छुटेका छन् । उनीसँग रविले नै सहमति गर्न चाहेनन् । उता कुलमान संरक्षक रहेको उज्यालो नेपालले पनि पार्टीको अस्तित्व समाप्त हुने गरी कुनै पनि पार्टीसँग एकता नगर्ने निर्णय गर्यो ।
पार्टीको शनिबार काठमडौँमा बसेको केन्द्रीय समितिको बैठकले नाम, चुनाव चिह्न र पद सबै अरु पार्टीको हुने वा अरुको पार्टीमा विलय हुनेगरी एकता नगर्ने निर्णय गरेको केन्द्रीय सदस्य किरण विकले जानकारी दिए ।
पार्टीका संरक्षक एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री घिसिङ उपस्थित सो बैठकले वैकल्पिक र अग्रगामी सबै शक्ति मिलेर जानुपर्ने मान्यता राखे पनि कुनै पार्टीमा विलय हुन नदिने निर्णय गरेको सदस्य विकले बताए ।
केन्द्रीय समितिको बैठकले पार्टीको नाम, चुनाव चिह्न, सभापति र प्रधानमन्त्री आफ्नो पार्टीबाट हुनुपर्ने रास्वपाका सभापतिले राखेको प्रस्तावलाई अस्वीकार गर्दै आफ्नै पार्टीको नेतृत्वमा चुनावमा आउन वैकल्पिक र अग्रगामी सबै शक्तिलाई आह्वान गरेको छ ।
बालेनले बोके रविको विगत
बालेन र रास्वपाबीच भएको सहमतिले बालेनले रविको विगत पनि बोकेका छन् । रविको पृष्ठभूमि विवादबाट मुक्त छैन । तर बालेनले रविको त्यो सबै विगतलाई बोकेर पार्टी सभापति मानेका छन् ।
यसले बालेनलाई कत्तिको फाइदा पुर्याउँछ त्यो समयले बताउने छ ।
साथै जेन-जी आन्दोलनमा भएको क्षति, ७६ जनाको हत्या र सिंहदरबार कसले जलायो भन्नेसमेत खुल्दै जानेछ ।
सामाजिक सञ्जालमा यो विषयमा बहस शुरू भइसकेको छ ।
रविको विगत विवादित छ । उनको व्यक्तिगत जीवनदेखि सार्वजनिक जीवन विवादले नै भरिएको छ । उनको अमेरिका बसाईका कुरा हुन् वा अमेरिकी नागरिक रहँदा नेपाली नागरिकता र पासपोर्ट प्रयोग गरेको कुरा होस् । पछिल्लो समय ग्यालेक्सी टिभीमा सहकारीको पैसा अपचलनको मुद्धा होस् ।
रवि र बालेनको एकताले जेन-जी आन्दोलनलाई राम्रैसँग समेटेको छ । जेन-जी आन्दोलन लगत्तै बालेनले सरकारको नेतृत्व गरुन् भन्ने जमात ठूलो रहेको थियो ।
विशेषगरी जेन-जीहरूको पहिलो प्राथमिकता बालेन प्रधानमन्त्री बनुन् र देशलाई निकास देउन् भन्ने थियो । उक्त चाहना पूरा नहुँदा बालेनसँग जेन-जीहरू खुशी थिएनन् ।
उता रवि भने गत भदौ २४ गते आन्दोलनको मौका छोपी नख्खु कारागारबाट आफ्ना पार्टीका नेता कार्यकर्ताको सहयोगमा भागेका थिए । भाग्दा गृहसचिवले औपचारिक कागज दिएरै सुरक्षाका लागि निस्किएको भनेर भनेर गृहसचिवको कागज नै देखाइएको थियो । फगत त्यो पत्र नै नक्कली बनाइएको रहेछ ।
पछि भागेको कुरोलाई सुरक्षाको कारण देखाई निस्किनु परेको भनेर तर्क गर्नु परेको थियो । यद्यपि सुरक्षाको कारण भनिए पनि उनी जसरी गाडीबाट अभिवादन गर्दै निस्किए उनमा विजय भाव देखिन्थ्यो । सुरक्षाको कारण हो भने खुसुक्क निस्केर नजिकको सुरक्षित स्थानमा जाने विश्वव्यापी मान्यता हो ।
जेन-जी आन्दोलनलाई आफूहरूको पनि समर्थन रहेको भनेर रास्वपाका प्रवक्ता मनिष झाले त्यतिबेलै जानकारी दिएका थिए । बालेनले पनि उक्साएकै थिए । बालेनले चाहेको भए सिंहदरबार जल्ने थिएन भनेर व्यापक चर्चा परिचर्चा भएको थियो ।
बालेनले एक शब्द पनि सामाजिक सञ्जालमा खर्चेनन् । उनले कुनै बेला सिंहदरबारमा आगो लगाउँछु भनेकै थिए । उनकी पत्नी सवार महानगरको सरकारी गाडीलाई बिदाको दिन ट्राफिकले कोटेश्वरमा रोक्यो भनेर उनले सिंहदरबार जलाउँछु भनेर सामाजिक सञ्जालमै लेखेका थिए ।
त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थिए । यता रविको सहकारी र पासपोर्ट काण्ड मात्र होइन उनको बहुविवाहदेखि अमेरिकामा रहँदा रहेका काण्ड लगायतका थुप्रै विवादित विगतको बोझ बोक्न आइतबार बिहान भएको सहमतिले बालेन पनि तयार भएको स्पष्टै भयो ।
रविको विवादित विगतमात्र होइन उनले आफैँले पुराना पार्टीहरूलाई ‘नो नट अगेन’ को नारा लगाएर रास्वपालाई २० सिट दिलाएपछि त्यही पुराना एमाले र माओवादीसँग बार्गेनिङ गरेर सरकारमा उपप्रधान तथा गृहमन्त्री खाए । जबकि जनताले दिएको म्याण्डेट सशक्त प्रतिपक्ष भएर रहनु थियो ।
जनताको म्याण्डेटलाई लत्याउँदै उनले दुई-दुई पटक पुष्पकलम दाहाल प्रचण्ड र केपी शर्मा ओलीको चाकरी गरेर उपप्रधान तथा गृहमन्त्री खाए । यस्ता कुराहरूले पनि उनको बोलीमा विश्वास गरिहाल्न सकिने स्थिति नरहेको बुझाइ रहेको छ ।