arrow

नेतान्याहु र ट्रम्पबीच फ्लोरिडामा निर्णायक भेटवार्ता हुँदै

गाजा युद्धविरामको दोस्रो चरण र क्षेत्रीय सुरक्षा मुख्य एजेन्डा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
trump-netanu-.jpg

काठमाडौँ ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार अमेरिका प्रस्थान गर्दैछन् जहाँ उनले सोमबार फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग महत्त्वपूर्ण भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। सन् २०२५ मा ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएयता नेतान्याहुको यो पाँचौँ अमेरिका भ्रमण हो। 

ट्रम्प प्रशासन र क्षेत्रीय मध्यस्थकर्ताहरूले गाजा पट्टीमा इजरायल र हमासबीच जारी युद्धविरामलाई दोस्रो चरणमा लैजान दबाब दिइरहेका बेला यो भ्रमण हुन लागेको हो। यसअघि डिसेम्बरको मध्यतिर राष्ट्रपति ट्रम्पले नेतान्याहु क्रिसमस बिदाको आसपास फ्लोरिडा आउन सक्ने र आफूलाई भेट्न चाहेको बताएका थिए।

भेटका क्रममा इरानको परमाणु कार्यक्रम, इजरायल–सिरिया सुरक्षा सम्झौता, लेबनानमा हेजबुल्लाहसँगको युद्धविराम र गाजा सम्झौताको आगामी दिशा जस्ता संवेदनशील क्षेत्रीय मुद्दाहरूमा छलफल हुने अपेक्षा गरिएको छ। वाशिङ्गटन र यसका क्षेत्रीय सहयोगीहरूको मध्यस्थतामा अक्टोबरमा भएको गाजा युद्धविराम सम्झौताको दोस्रो चरणमा पुग्ने प्रक्रिया हाल निकै सुस्त छ। विद्यमान युद्धविराम पनि कमजोर देखिएको छ जहाँ दुवै पक्षले सम्झौता उल्लङ्घनको आरोप लगाइरहेका छन् भने मध्यस्थकर्ताहरू वार्ता प्रक्रिया नै रोकिने डरमा रहेका छन्।

प्रस्तावित दोस्रो चरणको सम्झौताअनुसार इजरायल गाजाको आफ्नो नियन्त्रित क्षेत्रबाट पछि हट्नुपर्नेछ भने हमासको सट्टा त्यहाँ अन्तर्राष्ट्रिय स्थिरीकरण बल (आईएसएफ) तैनाथ गरिनेछ जसले गाजाको अन्तरिम प्रशासन सम्हाल्नेछ। यस चरणमा हमासलाई पूर्ण रूपमा हतियार बिसाउन लगाउने प्रावधान पनि समावेश छ जुन वार्ताको एक मुख्य चुनौती बनेको छ। 

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्प प्रशासनले गाजाको व्यवस्थापनका लागि प्यालेस्टिनी प्राविधिक विज्ञहरूको सरकार घोषणा गर्न चाहेको छ तर नेतान्याहुले चालेका कतिपय कदमले शान्ति प्रक्रियालाई सुस्त बनाएको भन्दै केही अमेरिकी अधिकारीहरूले असन्तुष्टि समेत व्यक्त गरेका छन्।

नेतान्याहुका लागि इरानको परमाणु र ब्यालिस्टिक मिसाइल क्षमताको विषय सत्तामा आफ्नो पकड बलियो बनाउन अर्को प्रमुख एजेन्डा रहने देखिएको छ। ट्रम्प र नेतान्याहूबीचको यो संवादले गाजा युद्धविरामको भविष्य र मध्यपूर्वको आगामी सुरक्षा रणनीतिको मार्गचित्र तय गर्ने विश्वास गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ