जेन–जीलाई सुशासनका लागि जिम्मेवार बन्न गृहमन्त्रीको आग्रह, काठमाडौँमा पीएएस प्रणाली शुरू
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १२ शनिबार
739
Shares
तस्बिर : फाइल
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी पुस्ताका सबै युवा शक्तिलाई सुशासनका मानकहरूमा परिपक्व भएर जिम्मेवार ढङ्ले प्रस्तुत हुन सुझाव दिएका छन् ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा पहिलो पटक विकास गरिएको सुशासन र सेवा प्रवाहको नवीनतम मोडेल सार्वजनिक घोषणा प्रणाली (पब्लिक अनाउन्स्मेण्ट सिस्टम) ‘पास’ एवं टोकन प्रणालीको शुक्रबार शुरूआत गर्दै उनले जेन–जी पुस्ताका शक्तिलाई सुशासनका प्रमुख मानकहरू जस्तै मानव अधिकारको सम्मान, भ्रष्टाचार नियन्त्रण र पारदर्शिताका सवालमा परिपक्व र जिम्मेवार ढङ्गले प्रस्तुत हुन सुझाव दिए ।
अन्तरिम सरकार बनेको जेन–जी जनआन्दोलनको जगबाट बनेको उल्लेख गर्दै उनले सरकारको जगलाई मजबुद र संस्थागत गर्नुबाहेक अर्को कुनै विकल्प नभएको बताए ।
मन्त्री अर्यालले भने, “जेनजी पुस्ता हामी सबैको ‘गुरु पुस्ता’ जस्तै भइसकेको र नेपाल राष्ट्र स्वयं नै ‘गुरु राष्ट्र’ जस्तो भएको छ किन भने यो आन्दोलनलाई अरू देशका जेन–जी पुस्ताले अनुसरण गर्न थालेका छन् ।”
जेनजी पुस्ताले जनआन्दोलनबाट देखाएको अग्रसरता र त्यसपछि भएको परिवर्तनलाई सही आचरणबाट संस्थागत गर्दै व्यवहारमा देखाउनुपर्नेमा उनको जोड थियो ।
उनले भने, “नेपाललाई गुरु राष्ट्र बनाउनका लागि सुशासनका सबै मानकहरूका बारेमा नव पुस्ताले अभ्यास गर्ने र प्रशिक्षण दिने अवस्थामा पुग्नुपर्छ ।”
शुक्रबारदेखि काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा शुरू भएको ‘पीएएस’ प्रणालीले नागरिक र राष्ट्र सेवकको सम्बन्ध नयाँ चरणमा पुर्याएको गृहमन्त्री अर्यालको भनाइ छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सो प्रणालीको विकास खरानीबाट उठेर प्रशासनको नयाँ भवनबाट प्रविधि मात्रै र सेवाग्राहीमैत्री सेवाको सुरु गर्न पाउँदा खुशी लागेको बताए ।
त्यस प्रणालीमार्फत सेवा लिन आउने सेवाग्राहीले कार्यालयभित्र प्रवेश गरेपछि पहिले सेवाग्राहीको कागजात रुजु गरिसकेपछि उनीहरूले लिन चाहेका सेवाका आधारमा टोकन लिएर सम्बन्धित शाखाबाट छिटोछरितो र झन्झटरहित सेवा लिन सकिने उनले बताए ।
सो अवसरमा गृहमन्त्री अर्यालले आफ्नो कार्यकाल १०० दिन पुगेको बताउँदै आफू नेतृत्वको मन्त्रालयले सम्पन्न गरेका केही प्रमुख कार्यहरू सार्वजनिक गरिएको जानकारी दिए ।
उनले यस अवधिमा मन्त्रालयले झण्डै ५० भन्दा बढी प्रमुख कार्यमा जेनजी पुस्ताका भावना र उनीहरूको अधिकार, कानूनी र सेवा सुधार, नागरिकता, राष्ट्रिय परिचयपत्र तथा सुशासनका पक्षमा उल्लेख्य काम गरेको बताए ।