सिन्धुली अस्पतालमा सय शय्या, अब विशेषज्ञ सेवा पाइने
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
809
Shares
रामेछाप । सिन्धुलीका स्थानीयले अब जिल्लामा नै विशेषज्ञ सेवा पाउने भएका छन्।
सिन्धुली जिल्लामा विशेषज्ञ सेवासहितको एक सय बेडको अस्पताल शुरू भएको छ । एक सय बेडको अस्पताल भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले एक कार्यक्रमका बीच उद्घाटन गरे ।
कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य सचिव डा सुमित्रा गौतमलगायतका अधिकारी, राजनीतिक दलका नेताहरू, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारण सहभागी थिए ।
मुख्यमन्त्री बानियाले बागमती प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारको प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको बताउँदै उनले नागरिकले सहज, गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा पाउनुपर्ने प्रदेश सरकारको दृढ प्रतिबद्धता रहेको उल्लेख गरे ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले आफूले मन्त्रालय सम्हालेपछि अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्रको स्तरोन्नति, उपकरणको व्यवस्था र जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।
ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि टाढा जानु नपर्ने अवस्था सिर्जना गर्ने लक्ष्यसहित स्वास्थ्य पूर्वाधार बिस्तारको काम भइरहेको उनले जनकारी दिए ।