हुम्लाको रिपमा भीषण आगलागी: दम्पती घाइते, श्रीमानको अवस्था गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
735
Shares
काठमाडौँ । हुम्लाको सर्केगाड गाउँपालिका–६ रिप गाउँमा गएराति भएको भीषण आगलागीमा परी एक दम्पती घाइते भएका छन्। घाइतेमध्ये श्रीमान् लैबा फडेराको अवस्था चिन्ताजनक रहेको छ भने उनकी श्रीमती बम्बु फडेराको अवस्था सामान्य रहेको जिल्ला अस्पताल सिमकोटले जनाएको छ।
उपचार र स्वास्थ्य अवस्था गएराति ११ बजे सुरु भएको आगलागीमा परी घाइते भएका दुवै जनालाई आज बिहान २ बजे एम्बुलेन्समार्फत जिल्ला अस्पताल सिमकोट पुर्याइएको थियो। जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार ५४ प्रतिशत शरीर जलेका कारण लैबा फडेराको अवस्था जटिल छ। उनकी श्रीमती बम्बुको भने १८ प्रतिशत शरीर जलेको छ। लैबाको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि जहाजमार्फत प्रदेश अस्पताल वा अन्य सुविधासम्पन्न अस्पतालमा रिफर गर्ने तयारी भइरहेको छ।
आगलागीमा परेर लैबा फडेरा, जयराम फडेरा र क्रान्ति फडेराका घरहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्। छिमेकीका अन्य केही घरमा राखिएका सामग्रीहरूमा पनि क्षति पुगेको छ। स्थानीय बासिन्दाको अथक प्रयासमा आज बिहान साढे २ बजे मात्र आगो नियन्त्रणमा आएको थियो।
आगलागीको कारण खुल्न नसके पनि क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको स्थानीय प्रशासनले जनाएको छ। भौगोलिक विकटता र साधनस्रोतको अभावका बीच स्थानीयले आगो निभाउन ठुलो सङ्घर्ष गर्नुपरेको थियो।